प्रमुख समाचार

पर्वतको कुश्मामा यसरी शुरु भयो लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान

By लोकतन्त्र अनलाईन

November 26, 2019

पर्वत– लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान पर्वतको कुश्मा नगरपालिकाले पनि औपचारिक कार्यक्रमका साथ शुरु गरेको छ । नेपाल सरकारको राष्ट्रिय नारा समानताको पुस्ता वलत्कार बिरुद्ध एकता भन्ने नाराका साथ कुश्मा नगरपालिकाले १६ दिने अभियान शुरु गरेको हो । अभियानको पहिलो दिन आज एक कार्यक्रमको बिच अभियान शुरु भएको छ । शुरु दिन सरोकारवालाहरुको बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । १६ दिन सम्म वडावडामा सचेतनामुलक कार्यक्रम गरि अभियान समापन गरिने भएको छ । कार्यक्रमको शुरुवात गदैै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले प्रथा, परम्परा, संस्कार र सामाजिक रहनसहनका कारण लैगिंक हिँसा अपेक्षित रुपमा न्यूनिकरण हुन नसकेको बताउनुभयो । विगत भन्दा अहिले हिँसा तुलनात्मक रुपमा कम हुँदै आएको तथ्यांकहरु पाईएपनि सारभूत रुपमा हिँसाको स्वरुप भने उस्तै रहेको विश्वकर्माले बताउनुभयो । उहाँले पूरुष भन्दा महिला बढिमात्रा हिँसामा परेको र महिलामाथी हिँसा गर्न महिला नै अग्रसर बन्नु दुखद पक्ष रहेको औल्याउनुभयो । दुरदराजमा धेरै हिँसाका घटना लुकिरहेको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले लैगिंक हिँसा, दुव्र्यवहार र अपहेलनामा शुन्य सहनशिलताको नीति लिईने बताउनुभयो । नगरउपप्रमुख लामिछानेले सम्मुनत र विभेदरहित समाज निर्माणमा पूरुष र महिलाको समान दायित्व रहेको बताउनुभयो । कुश्मा नगरपालिकाले विगत वर्षमा सदरमुकाममा एक दिन औपचारिक कार्यक्रम गरेर समापन गर्दै आएको लैगिंक हिँसा बिरुद्धको दिवस यसवर्ष तल्लो वर्ग सम्म पुग्न वडा तहमा पुग्न लागेको बताउनुभयो । कार्यक्रममा नेपाल महिला संघका जिल्ला अध्यक्ष जोगमाया प्रसाई, अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष मनरुपा शर्मा, गैसस महासंघका अध्यक्ष शिवप्रसाद शर्मा, नेपाल वारका अध्यक्ष चन्द्रबहादुर क्षेत्री , सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञाशु, कुश्मा नगरपालिका ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने, व्रह्मकुमारी ईश्वरिय विद्यालयका कुश्माकी सञ्चालिका राधिका लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनको अक्षरस पालना नहुँदा हिँसा नघटेको बताउनुभयो । कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले कार्यक्रमको स्वागत गर्नुभएको थियो भने सामाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्माले लैगिंक हिँसाको विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाका शाखा अधिकृत धुर्व पौडेलले गर्नुभएको थियो ।