प्रमुख समाचार

शशांक कोइरालाले भने, ‘हिन्दुुु राष्ट्र बनाउने अभियान चलाउनुस्, म साथमा छु’

By लोकतन्त्र अनलाईन

May 25, 2019

पर्वत – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने बताएका हुन् । ‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौँ । तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’ उनले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । ‘काँग्रेसको महामन्त्रीको हैसियतले भन्दै छु । हाम्रो पार्टीको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हो । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उनले भने ।आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको बताए ।  महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुन पर्छ भनेर टिकाटिप्पणी गर्दै आएका छन् । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेपछि काँग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पर्वतमा विश्वकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी, पण्डित इश्वरकृष्ण भुर्तेल, पूर्व मन्त्री दिपक गिरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले बोलेका थिए ।