पर्वत – उपभोक्ताले औषधी व्यवसाय तथा मेडिकल तथा नीजि हस्पिटलहरुबाट ठगिएको भन्दै गुनासो गरेपछि जिल्ला स्तरीय अनुगमन समितिले पर्वतको कुश्मा बजार भित्र सञ्चालन भएका औषधी पसल, मेडिकल तथा नीजि अस्पतालहरुको अनुगमन गरेको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको नेतृत्वमा उद्योग व्यवसायी, सञ्चारकर्मी, उपभोक्ता अधिकारकर्मी लगायतको सहभागितामा अनुगमन भएको हो ।अनुगमनका क्रममा विगतमा भन्दा पर्वत सदरमुकाम कुश्मा बजार भित्रको औषधी व्यवसाय सुधारोन्मुख देखिएको अनुगमन टोलीका सदस्य प्रभात लामिछानेले बताउनुभयो । पर्वतमा नयाँ सञ्चालनमा आएका कुश्मा हस्पिटल प्रालि र शान्ति दिप हस्पिटल प्रालिले नगरपालिकाबाट लिनु पर्ने प्रयोगशाला स्वीकृति नलिएको पाइएको थियो भने अनुगमन गरिएका १५ मेडिकल हल तथा हस्पिटलका अन्य व्यवसायिक कागजातहरु दुरुस्त राखेको पाइएको छ । अनुगमनकै क्रममा सुनगाभा फार्मेसीले चिकित्सकको अनुमतिमा नार्कोटेक ग्रुप अन्तरगतका औषधीहरु विक्रि वितरण गर्दै आएको बताएपनि उक्त तथ्याङ्क नराखेको समेत पाइएकाले अनुगमन टोलीले तत्काल रेकर्ड राख्न निर्देशन समेत दिएको छ ।पर्वतमा सञ्चालित अधिकांश मेडिकल हल तथा फार्मेसीहरुले नार्कोटेक अन्तर्गतका औषधीहरु चिकित्सकहरुको अनुमति अनुसार विक्रि वितरण गर्दै आएका छन् । चिकित्सकको अनुमति विना र रेकर्ड नराखि औषधी विक्रि वितरण गरेको पाइएमा तत्काल कार्बाही गरिने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले कानुन विपरित औषधी विक्रि वितरण नगर्न निर्देशन दिनुभएको थियो ।केही औषधी पसलहरुमा औषधीमा तोकिएको मितिको समयाबधि सकिनै लागेको भेटिएकाले औषधी व्यवसायएहरुलाई व्यवसायको संवेदशीलतालाई ध्यानमा राखेर विक्रि वितरण गर्न टोलीले निर्देशन समेत दिएको छ । कागजात नपुगेका व्यवसायीहरुलाई सात दिनको समयावधि दिएर उपलब्ध गराउन निर्देशन दिइएको टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिनुभयो ।