प्रमुख समाचार

फलेवासको भवानी विद्यापीठमा एक करोडको लागतमा भवन बन्दै, उपमेयर अधिकारीद्धारा शिलन्यास

By लोकतन्त्र अनलाईन

April 25, 2019

पर्वत– जिल्लाको सवैभन्दा पुरानो विद्यालय भवानी विद्यापीड मावि भौतिक पूर्वाधारले सम्पन्न हुन थालेको छ । शैक्षिक गुणस्तरको हिसावले पनि अब्बल मानिएको विद्यालय नमुना विद्यालयको रुपमा अघि बढेको छ । यसैबीच नमुना बिद्यालय बिकास सुधार गुरु योजना अन्तर्गत विद्यालयमा नयाँ भवन निर्माण कार्य शुरु भएको छ । झण्डै एक करोडको लागतमा तीन तले ९ कोठाको पक्की भवन निर्माण शुरु भएकोे बिधालयका प्रद्यानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिनुभयो । निर्माणाधिन भवनको फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै उपप्रमुख अधिकारीले अब गुणस्तरीय शिक्षाको खोजी गर्दै गाउँ छाडेर बाहिरीनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले फलेवास नगरपालिका भित्रका सवै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहेको बताउनुभयो । उहाँले उक्त भवन मापदण्ड अनुसार काम गरि समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो । भवन निर्माणका लागि स्थानीय रमाकान्त शर्माको संयोजकत्वमा ९ सदस्यीय निर्माण समिति गठन भएको छ । सबै निर्माण सामाग्री उपलब्ध भएकाले भवन निर्माण तोकिएको समयमै सम्पन्न हुने संयोजक शर्माले बताउनुभयो । भवन निर्माण शिलान्यास कार्यक्रममा बिधालयका शिक्षक, बिद्यार्थी, जनप्रतिनिधि, अभिभावक लगायतको सहभागिता रहेको थियो । जिल्लाकै पुरानो उक्त बिधालय नेपाल सरकार शिक्षा मन्त्रालयबाट नमुना बिधालयको रूपमा छनोट भएको छ ।