पर्वत – पर्वत र बागलुङ सीमा हुँदै बग्ने कालीगण्डकी नदीको झन्डै २ किलोमिटर क्षेत्र नक्सामै छैन।नदीको मध्यभागबाट ३० ३० मिटर दायाँबायाँको क्षेत्र सरकारी हुनुपर्नेमा पर्वतको सहस्रधारादेखि अर्मादीसम्मको करिब २ किलोमिटर दूरीमा नदीको भागै नभएको पाइएको हो।
कालीगण्डकी अतिक्रमण छानबिन समितिका सदस्य एवं नापी अधिकृत पूर्णहरि सुवेदीका अनुसार सुरु नापीकै समयमा भएको कमजोरीका कारण यस्तो भएको हो । ‘अध्ययनमा सुरु नापीकै कमजोरी भएको पाइयो,’ हाल नापी कार्यालय पोखरामा कार्यरत सुवेदीले भने, ‘खोलाभित्र व्यक्तिको जग्गा हुन सक्दैन भन्ने थियो । पछि सरोकारवाला सेलाए।’
खोलाको सतह व्यक्तिका नाममा हुन नसक्ने भए पनि नीतिगत कमजोरीका कारण नदीको धेरैजसो भाग व्यक्तिका नाममा दर्ता भएको उनले बताए । कालीगण्डकीलाई पर्वत र बागलुङका स्थानीय तहले आम्दानीको गतिलो स्रोतका रूपमा लिँदै आएका छन् । यसको संरक्षण र सीमाबारे भने मौन छन्।
पछिल्लो समय नदी किनारमा आवादी जग्गा हुनेले मिच्दै मुख्य सतहसम्मै पुगेर नदीजन्य पदार्थ निकासी गर्ने, ठेक्कामा लगाउने गरी अतिक्रमण गरेका छन् । कालीगण्डकी अतिक्रमणबारे २०७२ साउनमा गठित समितिको प्रतिवेदनअनुसार नदीको पर्वत खण्डमा पर्ने केही जग्गा २०३८ सालमै व्यक्ति र विभिन्न गुठीका नाममा दर्ता भएको छ।
पर्वतको तत्कालीन पाङ गाविस १, २, ३ र ४ तथा तत्कालीन खुर्कोट गाविस १ र २ मा पर्ने २४ कित्ताको करिब १६० रोपनी जमिन व्यक्तिका नाममा देखिएको छ । नदी किनारमा आवादी जग्गा भएकाहरूले २०३८ मा दर्ता गरेका थिए।
जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको प्रतिवेदनअनुसार सोही क्षेत्रमा पर्ने ६ रोपनी १२ आना जग्गा लक्ष्मीनारायण गुठीका नाममा दर्ता छ । त्यसमध्ये करिब १९० रोपनी क्षेत्रफल नेपाल सरकारकै नाममा मालपोत कार्यालयमा दर्ता छ।
समितिका संयोजक सुरण पौडेलले पर्वत खण्डमा पर्ने कालीगण्डकीको धेरैजसो भाग व्यक्तिका नाममा दर्ता भएको अन्तरिम प्रतिवेदन प्रशासनमा दिएको बताए । हाल मालपोत कार्यालय पाल्पामा कार्यरत पौडेलका अनुसार अन्तिम प्रतिवेदनबारे कसैले चासो नराखेपछि त्यत्तिकै थन्किएको हो।
ekantipur.com