प्रमुख समाचार

कुश्माको एकता क्लब बन्यो हजारौ महिलाको माईती, यसरी खुवायो तीजको दर

By लोकतन्त्र अनलाईन

August 25, 2019

पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मामा दर खाने कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा कृयाशिल एकता युवा क्लवको आयोजनामा तीजको अवसरमा महिलाहरुको खेलकुद, सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले परम्परागत संस्कृतिको जगेर्ना गर्नका लागि नगरपालिका सँधै तत्पर रहेको बताउँदै यस्ता चाडपर्वहरु नेपालीहरुका अमुल्य निधि भएको बताउनुभयो । उहाँले चाडपर्वलाई तडक भडक नगरी मौलिकतामै मनाउनुपर्नेमा जोड दिँदै सम्पुर्ण दिदीबहिनीहरुमा शुभकामना दिनुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले मौलीक संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै महिलाहरुको महान पर्वलाई स्वतन्त्रतापूर्वक मनाउन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता संस्कृतिहरुलाई बचाईराख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्मा, कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्य, क्लवका संस्थापक सल्लाहाकार बसन्तबहादुर सिके, पूर्व अध्यक्ष अच्युत तिवारी लगायतले बोल्नुभएको थियो । क्लवका अध्यक्ष नरेन्द्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बिजय चापागाई र संचालन सचिब गोकुल चापागाईले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य दर खाने कार्यक्रमका मुल संयोजक उमा सापकोटाले व्यक्त गर्नुभएको थियो । केहि समय अघि जिल्ला प्रशासन कार्यालयले भड्किलो तीज नमनाउन जारी गरेको सूचनालाई चुनौती दिँदै उक्त क्लवले वर्षौदेखि गर्दै आएको दर खुवाउने कार्यक्रममा एक हजार भन्दा बढि महिलाहरुलाई दर खुवाएको हो । सो अवसरमा नाचगान तथा विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका थिए ।