काठमाडौं / बाढीपहिरोका विषयमा सदनमा समेत एकमत देखिएको राष्ट्रियसभाको उच्चस्तरीय टोलीले अतिप्रभावित दश जिल्लाको स्थलगत निरीक्षण र राहत तथा पुर्नस्थापना कार्यको अनुगमन गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा चार दिन सम्म बाढीबाट अतिप्रभावित दश जिल्लाको स्थलगत निरीक्षण र अनुगमन गरेर मंगलबार काठमाण्डौ फर्केको हो ।
राष्ट्रियसभाका अध्यक्ष सहितको टोलीले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा, सप्तरी र सुनसरी अनुगमन गरेको हो । टोलीमा उपाध्यक्ष शशिकला दहाल, नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई, नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाई, राष्ट्रिय जनता पार्टीका संसदीय दलका नेता बृषेशचन्द्र लाल र संघीय समाजबादीकी संसदीय दलकी नेता प्रमिला कुमारी सहभागी हुनुभएको थियो ।
टोलीले बाढीले डुवानमा परेका अतिप्रताभित क्षेत्रमा पुगेर सबैभन्दा बढी समस्या भएका ठाउँको बस्तुस्थिति बुझ्ने काम गरेको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । ‘हामीले डुबानपछि राहत र पुर्नस्थापनाको बिषयमा बुझेर फर्केका छौ’ उहाँले भन्नुभयो ‘केही ठाउँमा तत्कालै राहत दिनुपर्ने अबस्था छ सरकारलाई यसबारेमा निर्देशन दिन्छौ’ प्रतिबेदन आएपछि राष्ट्रियसभामा छलफल समेत हुने उहाँले जानकारी दिनुभयो ।
यसअघि बाढी पहिरो जस्तो बिपद्को समयमा प्रतिनिधीसभाको बैठक नै स्थगित भएको अबस्थामा संघीय संसदको माथिल्लो सभा सदन राष्ट्रियसभा भने एक भएर संकटको सामना गर्नुपर्ने सन्देश प्रवाह गर्न सफल भैसकेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अगुवाईमा सत्तापक्ष र बिपक्षका साँसदहरुले बिपद्को सामना गर्न एकमत हुँदै सहज रुपमा सदन चलाउँदै राहत,उद्दार र पुर्नस्थापनाका लागि पहल गर्ने निर्र्णय गरेका थिए । सोही समझदारी अनुसार राष्ट्रियसभाको टोलीले अतिप्रभावित क्षेत्रमा स्थलगत निरीक्षण, अनुगमन गरेर फर्केको छ ।