प्रमुख समाचार

कहाँ छन् होला ? पर्वतको थापाठानाका यी आमाछोरी महिनादिन देखि बेखबर

By लोकतन्त्र अनलाईन

March 24, 2019

पर्वत- पर्वतको फलेवास नगरपालिका २ थापाठानाकी एक महिला महिनादिन देखि ४ बर्षिया छोरी सहित बेपत्ता भएकी छिन् । २ फागुनमा काठमाण्डौबाट पर्वतका लागि हिडेकी २४ बर्षिया सर्मिला थापा आफ्नी ४ बर्षिय छोरी सुप्रिया थापा सँगै ३६ दिनसम्म बेखबर बनेकी हुन् ।फलेवास नगरपालिका २ थापाठाना खनार माइतघर भई सोही स्थानमा ९ बर्षअघि प्रकाश थापाका साथ विवाह गरेकी सर्मिला काठमाण्डौबाट घरमा जान भनी हिडेकी तर हाल सम्म परिवार तथा माइती पक्षको सम्पर्कमा नआएकी हुन् । पर्वत प्रहरी लगायत घर पक्ष र माइती पक्षले उनको खोजि कार्य गरेपनि हराएको ३६ औँ दिन सम्म फेला पर्न सकेकी छैनन् ।सर्मिलाका माइती पक्षले भने घर परिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । । ‘घरमा बस्न नसकेको भन्दै १८ महिना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’ बेपत्ता महिलाका बाबु मतिलाल कार्कीले छोरी सर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाए ।सर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ बर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए ।यता श्रीमान्ले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफुले काठमाण्डौबाट पर्वतको बसमा चढाएको तर कहाँ कता गए भन्नेबारेमा आफुपनि अन्योल रहेको बताएका छन् । उनले माइती पक्षले नै सर्मिला र छोरीलाई बेखर बनाएको आरोप लगाए । सर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ मा घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर ५ फागुनमा कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफुहरुलाई थाहा भएको बताए ।परिवारले खोजि कार्यमा तदारुकता नदेखाएपछि आफुले १३ फागुनमा पर्वत प्रहरीमा खोजि कार्यमा सहयोग गरिदिन निवेदन दिएको उनले बताए । ‘आफन्त, नातागोता, इष्टमित्र सवै तर्फ खोज्नुपर्ने ठाउँमा सोध खोज ग¥र्योै तर अत्तोपत्तो लागेन’ उनले छोरी सर्मिला र नातिनी सुप्रियाको तस्विर देखाउँदै भने ‘घर परिवारले नै यो अवस्था बनाएका हुन्’ पहिल्यै देखि शारिरीक र मानसिक यातना दिँदै आएकोले घरपरिवारले नै उनीहरुलाई बेपत्ता बनाएको आरोप मोतिलालको छ ।यता जिल्ला प्रहरी कार्यालय पर्वतले भने सम्बन्धित ठाउँमा खोजि कार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । काठमाण्डौबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । माइती र घर पक्ष बीचको सम्बन्ध समेत राम्रो भएका कारण खोजि कार्यमा समस्या भएको र दुवै पक्षलाई मिलेर खोजि कार्यमा सहयोग गर्न आग्रह गरिएको उनले बताए ।