माधब पराजुली,पोखरा पर्वतको फलेवास नगरपालिका वडा नं. ११ कुर्घा र कुश्मा नगरपालिका वडा नं. १ पाङलाई नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको छ । कृषकसंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमुना कृषि गाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमुना कृषि गाउँको रुपमा विकास गर्न थालिएको हो । गण्डकी प्रदेशको कृषि मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमका रुपमा यो कार्यक्रम सुरुभएको जनाएको छ । शनिवार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कुर्घा र पाङमा नमुना कृषि गाँउको कार्यारम्भ गर्नुभयो । सभामुख अधिकारीले कृषक , सरकार र कृषि वैज्ञानिकहरुको साझेदारी प्रयत्नबाट नमुना कृषि गाउँ निर्माण गर्दै अगाडी बढ्ने बताउनुभयो । रैथाने जातका तरकारीरुलाई प्रवद्र्धन गर्र्दै कृषि विकासका माध्यमबाट समृद्धिको यात्रा तय गर्न मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले उक्त कार्यक्रमले कृषि उत्पादकत्वमा वृद्धि हुनुका साथै कृषको आयआर्जनमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा मन्त्री विकास लम्सालले उक्त कार्यक्रम मार्फत स्थानीय कृषि विकासका नविन मोडल प्रस्तुत गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उक्त कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाका सबै ३६ निर्वाचन क्षेत्रमा सञ्चालन गरिने जनाउदै उहाँले एक स्थानीय तह एक नमूना कृषि गाउँ स्थापना गर्ने उद्धेश्य रहेपनि पहिलो वर्ष कम्तिमा एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ बनाउने लक्ष्य प्रदेश सरकारले राखेको बताउनुभयो । नमुना कृषि गाउँ कार्यक्रमका लागि यस वर्ष १० करोड ८० लाख छुट्याइएको छ । प्रत्येक नमूना कृषि गाउँलाई ३० लाखका दरले रकम प्रदान गरिने गण्डकी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोश्रो वर्ष त्यसको पचास प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषि गाउँलाई अर्को वर्ष पचास प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषि गाउँ बनाउनका लागि खर्च गरिने छ ।