प्रमुख समाचार

बगरफाँटकी क्यान्सरपिडितको उपचारका लागि सहयोग जुटाउन घरदैलो

By लोकतन्त्र अनलाईन

March 24, 2019

पर्वत – जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ । ४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका बासिन्दाहरुले घरदैलो गरेर करिब एक लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।जलजला–३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जनप्रतिनिधिको हैसियतमा सरकारबाट पाएको तलव वापतको दश हजार रुपैयाँ प्रदान गरेर घरदैलो सुरुवात गर्नुभएको थियो । फरक वडाको भएपनि विक परिवारलाई परेको पिडा कम गर्न थोरै भएपनि सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा अध्यक्ष भण्डारीको नेतृत्वमा गरिएको घरदैलोका क्रममा ९० हजार रुपैयाँ सहयोग संकलन भएको छ ।पर्वत बेनीमा पनि घरदैलो गरेर सहयोग जुटाउने र गाउँपालिकाबाट पनि उपचारका लागि सहयोगको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । विकका श्रीमान रोजगारीको लागि विदेशमा हुनुहुन्छ । विकका दुई छोरा र दुई छोरी छन् । उनिहरु सुकुम्बासी हुन् । विकको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पाँच लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको र थप त्यतीनै रकम आवश्यक पर्ने परिवारका सदस्यहरुले बताएका छन् ।