प्रमुख समाचार

पर्वतको वहाकी क्याम्पसको नवनिर्मित भवन उद्घाटन, विकास निर्माणमा खिचातानी नगर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

By लोकतन्त्र अनलाईन

November 24, 2019

पर्वत– पर्वतको एक विकट गाउँमा संचालित क्याम्पसमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको हो । नवनर्मित भवनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको छ । झण्डै रु. डेढ करोडको लागतमा निर्माण सम्पन्न भएको ८ कोठे भवनको अध्यक्ष तिमिल्सीनाले शनिवार उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको भन्दै आर्थिक रुपमा सवल भएमा संविधानमा उल्लेखित सबै अधिकार प्राप्त गर्न सहज हुने बताउनुभयो । देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि तीनै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक समृद्धि भएमा, विकसित भएमा मात्र संविधानमा मात्र संविधानको सफल कार्यान्वयन भएको देखिने बताउँद्यै त्यसका लागि हामी सवैले आ–आफ्नो ठाउँवाट योगदान गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सीनाले देशलाई समृद्ध बनाउन कर संकलन बढाउनुपर्ने, भष्ट्रचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले आगामी चार वर्ष भित्र पर्वतका सवै वडा कार्यालयसम्म कालोपत्रे सडकको पहुँच पुग्ने र प्रत्येक घरमा खानेपानी धाराको व्यवस्था हुने बताउनुभयो । उहाँले पोखरादेखि सिँधै पर्वतको शालिग्राम शिला जोड्ने सडक निर्माण सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफु तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदादेखिनै जिल्लाको समग्र विकासमा सक्रिय रहेको बताउँदै पर्वतवासीका चाहाना र आवश्यकता पुरा गर्न हरसम्भव लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्याम्पस भवन उद्घाटन सँगै नवौँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै तिमिल्सिनाले शिक्षा व्यवसायिक र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा संविधानसभाका सदस्य गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेकपाका केन्द्रीय सदस्य गुप्तवहादुर हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोबिन्द पहाडी लगायतले बोल्नुभएको थियो । कार्यक्रम वहाकी वहुमुखी क्याम्पसका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । क्याम्पसको वर्तमान अवस्था र भावी कार्यक्रमको बारेमा क्याम्पस प्रमुख एकनारायण भट्टराइले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृति प्रस्तुतीहरु पनि राखिएको थियो ।