पत्र-पत्रिका

अबदेखि शिक्षक हुन दुई परीक्षा दिनुपर्ने

By लोकतन्त्र अनलाईन

August 24, 2019

काठमाडौं : अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ। सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन्। मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ। संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ। एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ। सामान्य परीक्षा वस्तुगत हुने समाचार गोरखापत्र दैनिकमा छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको बताउँदै भने, ‘विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरेका हौँ। यसबाट शिक्षक छनोटमा प्रतिस्पर्धा बढ्ने छ र उत्कृष्ट मात्र शिक्षकमा छनोट हुनसक्नेछन्।’ सामान्य परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गर्नेले मात्र विषयगत परीक्षा दिन पाउनेछन्। संशोधित नियमावलीअनुसार सामान्य परीक्षामा प्राप्त अङ्कको ५० प्रतिशत अङ्क मात्र विषयगत परीक्षाको प्राप्ताङ्कमा जोडिने व्यवस्था छ।