प्रमुख समाचार

पर्वतको कोटीहोममा आएका काँग्रेस नेता भण्डारी भन्छन्–‘नेपाल हिन्दु राष्ट्र हुनुको विकल्प छैन’

By लोकतन्त्र अनलाईन

May 23, 2019

पर्वत–हिन्दुवादी नेताका रूपमा चिनिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले नेपाल हिन्दु राष्ट्र नभएमा विदेशी शक्तिहरूले चलखेल गर्ने बताएका छन । नेपाललाई जोगाउनका लागि देशलाई हिन्दु राष्ट्र भनी घोषणा गर्नुपर्ने उनको दाबी छ । पर्वत सदरमुकाम कुस्मामा चलिरहेको कोटीहोम तथा तुलादान महायज्ञको बुधवारको आठौँ दिनको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अधिकांश नागरिकले हिन्दु धर्म मान्ने भए पनि देशलाई हिन्दु राष्ट्र भनी घोषणा गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता भण्डारीले भने, ‘सदियौँदेखि रही आएको हिन्दु धर्मलाई मेट्न विदेशीहरूको चलखेल पनि उत्तिकै छ । देश र धर्म जोगाउन नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ ।’ नेपालमा घुम्न आउने पर्यटकहरूमध्ये धेरैजसो धार्मिक रूपमा आउने भएकाले पनि नेपालको समृद्धिको एउटा आधार धार्मिक पर्यटकहरू बन्ने उनको तर्क छ । हिन्दु धर्मका विरुद्धमा सदियौँदेखि ठुलो षडयन्त्र हुँदै आइरहेको भन्दै उनले देशको पहिचान र अस्तित्व हिन्दु धर्मबाट मात्र हुने भएकोले यसमा सबै दलहरू सचेत बन्नुपर्ने धारणा राखे । राजनीतिक रूपमा विपरीत ध्रुवमा फर्किएका दलहरू पनि यो मुद्दाका लागि नरम भएर सबै सकारात्मक बन्नुपर्ने आवश्यकता रहेको पूर्व मन्त्री भण्डारीले बताए । अर्को प्रसङ्गमा बोल्दै उनले देशको समृद्धिका लागि नेपाली काँग्रेसले कृषि, पर्यटन र जलश्रोतलाई आधार मानेको उल्लेख गरेका छन ।

यसैबिच, १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्यका साथ ११ दिनसम्म चल्ने महायज्ञको आठौँ दिन बुधवारसम्म २ करोड ३५ लाख रुपैयाँ नगद उठेको छ भने ५० लाखको जग्गा दान भएको छ । महायज्ञ प्रचारप्रसार समितिका संयोजक मोहन आचार्यका अनुसार महायज्ञमा कोटीहोम र तुलादान गर्नेहरूको उल्लेख्य सहभागिता रहेको छ । पर्वतको पाङमा हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म भएको हो भनी चिनाउन, शिव र पार्वतीको विश्वकै अग्लो मूर्ती निर्माण गर्न, सिसमहल निर्माण तथा ज्योतिर्लिङ्ग स्थापना गर्ने उद्देश्यले महायज्ञ लगाइएको हो । महायज्ञ आयोजक मूल समितिका संयोजक पृथ्वीनारायण शर्माका अनुसार महायज्ञमा १ करोड होमन गरिनुका साथै र ५१ सय जनाले तुला दान गर्नेछन ।