प्रमुख समाचार

भिभीआईपी नै जाममा परेपछि ………! गुडिरहेको बसमा जब माथिबाट ढुंगा बर्सियो ,!

By लोकतन्त्र अनलाईन

March 23, 2019

पर्वत ।गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन । पोखराबाट मुस्ताङ्ग तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटक सहित दुई जना यात्रु घाइते भएका हुन । पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा सडक निर्माणका क्रममा डोजरले खन्दा शनिवार दिउँसो सडक माथिबाट खसेको ढुंगा बसभित्र छिरेको थियो । ग१ख ५५९६ नम्बरको पर्यटक बसमा सडक माथिबाट खसेको ढुंगाले लाग्दा ८० बर्षिय भारतीय पर्यटक मनुभाई पट्टेल र पोखराका १९ बर्षिय सुनिल पौडेले घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । बसका सह–चालक रहेका सुनिल र भारतीय नागरिक पट्टेलको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

मध्य पहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्ड स्तरउन्नतीको क्रममा अर्मादीमा भिर काट्ने काम भैरहेको छ । सवारी साधन रोकेर स्काभेटरले भीर काट्नु पर्नेमा सवारी साधन गुडिरहँदा स्काभेटर अपरेटरले अटेर गर्दा दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शी यात्रुले बताएका छन ।

जब भिभीआईपी नै जाममा परे

गुडिरहेको बसमा ढुंगाले लागेर यात्रु घाइते भएपछि सडकको कुस्मा– अर्मादी खण्डमा केहीबेर सडक नै अबरुद्ध हुन पुगेको थियो । सडक अबरुद्ध हुँदा बागलुङ्गमा आयोजित नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल शिलन्यास गरेर पोखरा तर्फ फर्कदै गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समेत जाममा परेका थिए ।

यात्रु घाइते भएको र सडक जाम भएको अबस्थामा अध्यक्ष तिमिल्सीनाले घाइतेका आफन्तलाई सडकमा झरेर भेट गर्दै नआत्तिन आग्रह पनि गरे । उनले घाइतेको अबस्था हेरी हेलिकप्टरमा नै उपचारका लागि पठाउन पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सहितका सुरक्षा प्रमुखलाई निर्देशन पनि दिए । उनले घाइतेको उपचारको ब्यबस्था हुने र मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरमा राम्रो संग पुजाआजा गरेर फर्कन पर्यटकहरुलाई आग्रह पनि गरेका थिए ।