प्रमुख समाचार

कुश्मामा हुने गुप्तेश्वर विराट महायज्ञको पाङमा तयारी समिति गठन

By लोकतन्त्र अनलाईन

February 23, 2019

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न लागिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । महायज्ञलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गर्ने कार्य भैरहेको छ । यसैबीच कुश्मा नगरपालिकाको पाङ र खुर्कोट क्षेत्रमा समिति गठन गरिएको छ । भेलालाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले गुप्तेश्वर बिराट महायज्ञ कुश्मा नगरपालिकाकै भविष्यसँग जोडिएकाले यसलाई भव्य रुपमा सपल पार्नु नगरवासीहरुको दायित्व भएको बताउनुभयो । उहाँले जिल्लाको समग्र विकासका लागि पनि यो महायज्ञको महत्वपुर्ण भूमिका हुने बताउँदै सवै नगरवासीहरुलाई मन बचन र कर्मले सहयोग गर्न आव्हान समेत गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेल, मेलाका मुल संयोजक पृथ्वीनारायण शर्मा, बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो । भेलाले दुई वडाको संयुक्त संयोजकमा रविलाल शर्मा पौडेल र सचिबमा बिरेन्द्र रिजाल रहनुभएको छ । र सल्लाहाकारमा वडा नं. १ का अध्यक्ष देवेन्द्रप्रसाद सुवेदी र वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला रहनुभएको छ भने समितिमा अन्य १३ जना सदस्यहरु रहनुभएको छ । समितिले महायज्ञका लागि संस्थापक सदस्यहरु बनाउने, चन्दादाताहरु खोज्नुका साथै तुलादान गर्नेहरुको नामावली संकलन लगायतका तयारीहरु गर्ने भएको छ । पार्वती गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोम मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको थियो । यस्तै समिति चुवा, दुर्लुङ्ग लगायत विभिन्न क्षेत्रमा गठन गरिने महासचिब अच्युत तिवारीले जानकारी दिनुभयो ।