file photo

प्रमुख समाचार

निडर भएर राष्ट्र र जनताको सेवा गर्नुहोस् – जोशी

By लोकतन्त्र अनलाईन

August 22, 2019

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पार्टीको संकटमा सहयोग गर्नेहरुनै पार्टीका सच्चा शुभचिन्तक र असल कार्यकर्ता भएको वताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो । नेता जोशीले कर्मचारीलाई निडर भएर राष्ट्र र जनताको सेवा गर्न आग्रह समेत गर्नुभएको छ । नेता जोशीले संकटमा दुलो पस्ने र काँग्रेसको सरकार आएपछि सल्बलाउनेलाई पार्टीमा रेकर्ड राखिने वताउँदै संकटमा सहयोग गर्नेहरुलाई पार्टीले उच्च मूल्यांकन गर्ने प्रतिबद्धता जनाउनु भयो । काँग्रेस नेता जोशीले पार्टीमा आस्था राखेका कारण कसैले विभेद गर्यो भने त्यसको सामना पार्टीले गर्ने वताउँदै निडरता पूर्वक सेवा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले निर्धक्क भएर राष्ट्र सेवामा समर्पित हुन सुझाव दिनुभयो । सोही कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा आफूहरु माथि अन्याय गरेको दावी गर्दै त्यसका विरुद्ध डटेर सामना गर्ने प्रतिबद्धता जनाउनु भयो । अधिकारीले निष्ठापूर्वक काम गर्ने कर्मचारीलाई पार्टीले मूल्यांकन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछानेले कर्मचारीलाई परेको अफ्ठ्यारोमा आफूहरुले साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन युनियन संघका सचिव अर्जुन चापागाईले गर्नु भएको थियो । सोही कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघमा कुश्मा नगरपालिकामा कार्यरत सलेपा वीरवहादुर डाँगी र नासु सूर्यप्रसाद लामिछाने प्रवेश गर्नु भएको थियो भने उहाँहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सदस्यता प्रदान गर्नु भएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका शाखा अधिकृत ध्रुबराज पौडेललाई सम्मान गरिएको थियो ।