अर्थ/बाणिज्य

मन्त्री लम्साल भन्छन् –‘गण्डकी प्रदेशको विकास वायुपंखी गतिमा’

By लोकतन्त्र अनलाईन

April 21, 2019

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक विकास बिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् । आइतवार पर्वतको मोदी गाउँपालिका स्थित पातीचौरमा संचालित मोदी कोसेली तथा सौगात घरको उद्घाटन गर्दै मन्त्री लम्सालले निर्वाहमुखि खेती र सानो परिमाणको उत्पादनले कहिल्यैपनि आर्थिक प्रगति गर्न नसकिने बताए । उनले घरलु तथा लघु उद्यमलाई व्यावसायिक बनाईनेगरी सरकारले बजेट बिनीयोजन गरेको बताए । गाउँगाउँमा सञ्चालित उद्यमहरुलाई आवश्यक पुँजी, प्रविधि र सिप दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने खालका बस्तु तथा सामाग्री उत्पादन गरिने उनको भनाई रहेको छ । उहाँले गण्डकी प्रदेश पर्यटनको राजधानी भएकाले यहाँ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय उत्पादन विक्रि गरेर प्रसस्त आम्दानी गर्न सकिने बताए । उनले यसका लागि प्रदेशका तीन स्थानमा यस्ता खालका सौगात गृह संचालन गरिने बताए । मुग्लीन, पोखरा बिमानस्थल र राम्दीमा तीनवटा यस्तौ कोसेली घर संचालन गरिने र त्यसका लागि सरकारले रु ६० लाख रुपैया बिनीयोजन गरेको बताए ।

मन्त्री लम्सालले अहिले आन्तरिक भ्रमण वर्षको रुपमा मनाईएको र यस वर्ष पन्ध्र लाख भन्दा बढि पर्यटक प्रदेशमा भित्र्याउने लक्ष्य रहेको बताउँदै सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउनेगरी तयारी भैरहेको समेत जानकारी दिए । अब यो प्रदेशको विकास र समृद्धिका लागि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर उद्योग, जडिबुटी र उर्जाको समेत एकीकृत विकासमा सरकारले ध्यान दिएको उहाँको भनाई रहेको छ । उनले अब बायुपंखी गतिमा प्रदेशको विकास हुने बताए । सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले यस्ता खालका कोसेली घरले घरेलु तथा साना उद्यमीहरुलाई प्रोत्साहन मिल्ने बताउँदै जिल्लाका सातवटै स्थानीय तहमा विस्तार गर्न जरुरी रहेको बताए । उनले बढ्दो युवा पुस्ताको पलायनलाई रोकेर गाउँगाउँमा उद्यम स्थापना गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जुनसुकै बस्तु तथा सामान उत्पादन गर्ने उद्यमी वा कृषकका लागि अब बजारको समस्या नहुने बताए । उनले कृषकलाई व्यावसायिक कृषितर्फ र घरेलु तथा साना उद्यमीलाई मझौला उद्योग संचालन गर्नका लागि गाउँपालिकाले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले लघु तथा घरेलु उद्यमीहरुद्धारा उत्पादित बस्तुको विक्रि वितरणलाई पहिलो प्राथमिकता दिने बताए । उनले यस क्षेत्रमा उत्पादित बस्तुहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । सौगात गृह संचालनका लागि मोदी गाउँपालिका र गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक सहयोग गरेको कोसेली घरका संचालक चन्द्र विकले जानकारी दिए । उनले गाउँपालिका भित्रका जुनसुकै स्थानमा उत्पादित बस्तु तथा सामानको विक्रिका लागि समस्या नहुने उनको भनाई छ ।

गण्डकी प्रदेशको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय र मोदी गाउँपालिका द्धारा संयूक्तरुपमा प्रवद्र्धित मोदी कोशेली तथा सौगात घरमा घरेलु तथा साना उद्योगी द्धारा उत्पादीत वस्तुहरु अल्लो तथा ढाकाको कपडा,जुता,कोट,ज्वारी कोट,साडी,मुडा,सिस्नो धुलो,अदुवाको अचार र क्याण्डी लगाएतका सामाग्रीहरु राखिएको छ । गण्डकी प्रदेश सरकारले पोखरा सहितका अन्य शहरहरुमा पर्यटकहरुलाई केन्द्रित गरि कोशेली घर स्थापना गर्दै छ । मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले स्वागत गरेको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले गरेका थिए ।