प्रमुख समाचार

धौलागिरिका अन्तर जिल्ला समन्वय समितिले यस्तो ग¥यो निर्णय

By लोकतन्त्र अनलाईन

February 21, 2019

पर्वत– बागलुङमा ठुलो क्षमताको व्यवस्थित महिला बन्दी गृह निर्माण गरिने भएको छ । बागलुङ, पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको बागलुङमा बसेको बैठकले ३ वटै जिल्लाका महिला बन्दीगृह गाभेर बागलुङमा महिला बन्दीगृह तथा म्याग्दी र पर्वतमा पुरुष बन्दीगृह बनाउन लागिएको हो । बैठकको निर्णय गृहमन्त्रालय र कारागार विभागमा पठाउने र अनुमति प्राप्त भएपछि कार्यान्वयनमा लैजाने पर्वतका प्रमुख जिल्ला अधिकारी गूदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ५० जना क्षमताको महिला बन्दीगृह बनाउन लागिएको हो । बैठकले म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदी दोहन न्यूनीकरण, पुल तथा कलभर्ट निर्माण, विद्युत प्रसारण स्टेसन, नदी किनार तटबन्ध, धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदा छेउछाउका बस्तीको संरक्षणका लागि सहकार्य र समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको छ । सवारी साधनको चेकजाँच गरी सडक अनुशासन कायम गर्ने, सिमाना तथा नाकाबाट अन्य जिल्लाबाट अवैध ढंगले भित्रन रोक्ने निर्णय भएको छ । लागु औषध, शालिग्राम लगायत पुरातात्विक वस्तुको ओसारपसार, नदीमा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने लगायतका गैरकानुनी कार्य रोक्न तथा सिमाक्षेत्रमा हुने विपद व्यवस्थापनमा समेत सहकार्य गर्ने निर्णय भएको बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।