पर्वत । पर्वतको जलजला गाउँपालिका ५ लोप्रेमा धवलागिरी आमा समूहको भवन निर्माण भएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, समूहको कोष परिचालन र स्थानीयको श्रमदानमा दुई कोठे भवन निर्माण भएको हो । आठ लाख रुपैयाँको लगानीमा निर्माण भएको भवनमा एक वटा सभाहल, एक वटा स्टोर (भण्डारण) कोठा, चर्पी र शयन कक्ष रहेको निर्माण समितिका अध्यक्ष कुमारी पुर्जाले बताउनुभयो ।भवन निर्माणका लागि वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले चालू आर्थिक वर्षमा चार लाख रुपैयाँ बिनियोजन गरेको थियो । यसैगरी समूहको कोषमा रहेको दुई लाख रुपैयाँ पनि भवन निर्माणमा परिचालन गरिएको छ । स्थानीय ६६ घरधुरीले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । भवनको जेठ २५ गते स्थानीय युवा क्लवले आयोजना गर्न लागेको मेलाको अवसरमा उद्घाटन गर्ने तयारी भएको छ ।सामुदायिक भवन निर्माण भएपछि भेला, सम्मेलन, तालिम, गोष्ठि, कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । यसैगरी बिवाह, छेवार, किरीयाको लागि समेत भवनको उपयोग गर्ने स्थानीयबासीको योजना छ ।यसअघि लोप्रेमा आमा समूहको भवन थिएन् । भवन अभावमा ठूला कार्यक्रम सञ्चालन गर्न समस्या थियो । खुल्ला चौर र व्यक्तिका घरमा कार्यक्रम गर्नुपर्ने अवस्था थियो ।यसैगरी जलजला गाउँपालिकाको पर्यटकीय स्थल फलामेडाँडाको भ्यु टावर जाने पदमार्ग निर्माण भएको छ । वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको एक लाख रुपैयाँबाट स्थानीयबासीले श्रमदान गरेर ८० मिटर ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण भएको स्थानीय युवा पुर्खबहादुर पुर्जाले बताउनुभयो ।गत वर्ष ५४ मिटर पदमार्ग निर्माण भएको थियो । थप १५० मिटर पदमार्ग निर्माण गरेमा भ्यू टावर जोडिने पुर्जाले बताउनुभयो । फलामेडाँडाबाट हिमाल र पहाडको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।