प्रमुख समाचार

पोखराको चिप्लेढुंगामा बम भेटियो

By लोकतन्त्र अनलाईन

April 20, 2019

पोखरा- पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोक नजिकको सडकमा शनिवार विहान बम भेटिएको छ । सडक छेउमा विहान साढे सात बजे स्थानीयले बम देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा बम भेटिएपछि विजयपुर ब्यारेकबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको छ । सडक छेउमा बम भेटिएपछि सर्वसाधारणलाई क्षति नहोस् भनेर उक्त बम राखिएको क्षेत्रलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा घेरामा राखेको थियो । बम नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी रबिन्द्र मान गुरुङले बताए । वैशाख ५ गते विप्लव समूहले घोषणा गरेको बन्दका दिन सोही स्थानको ५० मिटर पूर्वको सडक छेउमा बम राखिएको थियो । उक्त बम विप्लव समूहले नै राखेको हुन सक्ने आशंका कास्की प्रहरीको छ । वैशाख ५ गतेकै दिन प्रतिबन्धित विप्लव समूहले घोषणा गरेको बन्दका दिन गण्डकी प्रदेश सभा भवन नजिकै राखिएको बम निश्क्रिय पार्ने क्रममा नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका थिए । घाइते थापालाई तत्कालै उपचारको लागि काठमाडौं लगिएको थियो ।