प्रमुख समाचार

डिभीजन बन कार्यालय पर्वतका यस्ता छन् कार्यक्रमहरु, हेर्नुहोस् तपाईले पनि लाभ लिन सक्नुहुनेछ (भिडीयोसहित)

By लोकतन्त्र अनलाईन

January 20, 2019

पर्वत– गण्डकी प्रदेश सरकार अन्तर्गत स्थापना भएको डिभीजन बन कार्यालयले चालु आर्थिक वर्षका कार्यक्रमहरु धमाधम कार्यान्वयनको चरणमा अघि बढेको जनाएको छ । आर्थिक वर्षको शुरु भएको तीन÷चार महिनापछि संचालनमा आएको कार्यालयले लक्षित कार्यक्रमहरु कार्यान्वयको चरणमा अघि बढेको जनाएको हो । बन क्षेत्रको विकास, संरक्षण र जडिबुटी खेती, संरक्षण, संकलन, भण्डारण, निकासी र पर्यापर्यटनको क्षेत्रमा कार्यालयले काम गर्ने भएको छ । त्यसैगरी बन पैदावारमा आधारित उद्योगहरुको विस्तारमा पनि कार्यालयले सहयोग गर्ने भएको छ । यस वर्ष प्रदेश सरकारबाट बिनीयोजित रु.२ करोड १० लाख र संघीय सरकारबाट बिनीयोजित रु १ करोड ५५ लाख रुपैया गरी कुल रु ३ करोड ६५ लाख रुपैयाले बिभिन्न कार्यक्रमहरु संचालन गरिने बन डिभीजन कार्यालयका डिभिजनल बन अधिकृत दधिलाल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले साझेदारी मार्फत संचालन हुने कार्यक्रमका लागि प्रस्ताव आव्हान गरिसकिएको छ । विशेषगरी जडिबुटी पहिचान, संकलन, भण्डारण र प्रशोधन केन्द्र, बृक्षारोपण, र वन पैदाबारमा आधारित उद्योगहरु संचालनका लागि प्रस्ताव आव्हान गरिसकिएको जानकारी दिनुभयो । डिभिजनल बन अधिकृत कँडेलले पर्यापर्यटन कार्यक्रम अन्तर्गत बन क्षेत्रहरुमा पर्यटकी पार्क, पोखरी तथा सिमसार क्षेत्र संरक्षण लगायतका कार्यक्रमहरु संचालन गरिने जानकारी दिनुभयो । जिल्लामा रहेको बन डिभीजन कार्यालय र ६ वटा सव डिभीजन कार्यालयमार्फत जिल्लाभरीका सामुदायिक, कबुलियती, निजि र सरकारी बन क्षेत्रका आसपासका उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यक्रमहरु संचालन गरिएको उहाँले बताउनुभयो । त्यसैगरी गर्मीयाम शुरु भएको र हाबाहुरी तथा आगालागी तथा बन डढेलोका घटनाहरु बढ्न सक्ने भन्दै सचेतनाका कार्यक्रम तथा बन डढेलो नियन्त्रणका कार्यक्रमहरु पनि संचालन गरिने कँडेलले बताउनुभयो । हेरौ डिभीजन बन कार्यालयले के कस्ता कार्यक्रमहरु गर्दैछ, र हालसम्म के कस्ता कार्यक्रहरु अघि बढे भन्ने सन्दर्भममा पञ्चासे एफ.एममा पत्रकार लक्ष्मण सापकोटासँग गरिएउको कुराकानी ।

भिडियो