पर्वत/ जिल्लामा सञ्चालित राष्ट्रिय गौरब र अन्य बिकास आयोजनाहरुको प्रगति बिबरण दुई दिन भित्र पेश गर्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्देशन दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतले संघीय सरकार र प्रदेश सरकारबाट सञ्चालित बिकास आयोजनाका प्रमुखहरु संग गरेको छलफल कार्यक्रममा आयोजनाको प्रगति बिबरण पेश गर्न निर्देशन नेपालले दिनुभएको हो । छलफलमा आयोजना र कार्यालय प्रमुखहरुले गएको आर्थिक बर्ष २०७५÷०७६ मा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । कतिपय कार्यालयहरुको प्रगति ९० प्रतिशत भन्दा माथि देखिएको छ भने कतिपय कार्यालयहरुको प्रगति ५० प्रतिशत भन्दा बढी छ । उक्त छलफलमा प्रजिअ नेपालले दुई दिन भित्रमा कार्यप्रगति र समस्याहरुका बारेमा प्रतिबेदन पेश गर्न आयोजनाका प्रमुखहरुलाई निर्देशन दिनुभएको थिथयो ।पर्वत जिल्लामा कालीगण्डकी करिडोर प्रसारण आयोजना, मध्यपहाडी लोकमार्ग आयोजना, उत्तर दक्षिण कालीगण्डकी करिडोर लोकमार्ग आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण आयोजना जस्ता राष्ट्रिय गौरबका आयोजना सञ्चालित छन । संघीय सरकार मातहत ग्रामिण सडक सञ्जाल सुधार आयोजना, पुननिर्माण प्राधिकरण मातहतका निजी आवास र शिक्षा आयोजना, तथा र गण्डकी प्रदेश सरकार मातहतका पुर्वाधार बिकास, जलस्रोत तथा सिंचाई बिकास, वन डिभीजन, भू तथा जलाधार ब्यबस्थापन , खानेपानी डिभीजन कार्यालयहरुले बिकास निर्माणका बिभिन्न आयोजनाहरु सञ्चालन गर्दै आएका छन ।उक्त अवसरमा कालीगण्डकी करिडोर प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले आयोजनाको दाना –कुस्मा खण्डको सम्झौता अबधी समाप्त भएपनि अहिले सम्म ८० प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । उहाँले स्थानियबासीको अबरोध र वन लगायतको समस्याका कारण सोचे अनुसार प्रगति नभएको बताउनुुभयो । मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख आशिष थापा मगरले आयोजनाको पर्वत खण्डमा ५० प्रतिशत निर्माण कार्य पुरा भएको जानकारी दिनुभयो । केही समय देखि निर्माण कार्य रोकिएपनि भदौपछि निर्माण कार्य युद्धस्तरमा अगाडी बढाउँदै सम्झौता अबधी भित्रै काम सम्पन्न गर्ने जानकारी दिनुभयो । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर प्रेमहरी पराजुलीका अनुसार सडक निर्माण कार्य लक्ष्य अनुसार नै प्रगति भएको बताउनुभयो । जलस्रोत तथा सिंचाई बिकास डिभीजनले ९० प्रतिशत काम सकेको छ । भू तथा जलाधार ब्यबस्थापन कार्यालयले ९६ प्रतिशत प्रगति भएको जानकारी गरानुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जिल्लाका बिकास आयोजनाहरुको नियमित रुपमा अनुगमन र कार्यप्रगतिका बारेमा जिल्ला प्रशासन कार्यालय मार्फत ताकेत थालेको छ भने प्रजिअ नेपालले आयोजना प्रमुखहरु संग मासिक रुपमा प्रगति समिक्षा गर्न थाल्नुभएको छ । छलफलपछि बिकास आयोजनाहरु समयमा सम्पन्न गर्न तथा आईपरेका समस्याहरुका बारेमा निकास निकाल्न पनि सहज हुने उहाँको बिश्वाछ ।