प्रमुख समाचार

सांसदहरुको गुनासो : असारमा ढुंगा, गिट्टी र बालुवा झिक्न रोक नलगाइयोस्

By लोकतन्त्र अनलाईन

June 19, 2019

काठमाडौं- सत्तारुढ दलकै प्रतिनिधिसभाका सांसदहरुले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन ।प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सत्तारुढ नेकपाका सांसदद्वय टोपबहादुर रायमाझी र गौरीशंकर चौंधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । सांसद चौधरीले गिट्टी, ढुंगा र बालुवा जेठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुपै्र विकास निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गरे । असारमा पनि गिट्टी, ढुंगा र बालुवा झिक्न पाउने व्यवस्था सरकारले नमिलाएकै कारण असारमा गर्नुपर्ने विकास निर्माणको कामले गति लिन नसकेको उनको भनाई छ ।नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोही अनुसारको वातावरण बनाउन सरकारसँग माग गरे । उनले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराए । असारमा गिट्टी, बालुवा र ढुंगा निकाल्न नपाउने कानुनी व्यवस्थाका कारण कतिपय ठूलो आयोजनाहरुको काम पनि अघि बढ्न नसकेको रायमाझीको भनाई थियो ।सांसद रायमाझीले गिटी, ढुंगा र बालुवा उत्खनन्को काम जथाभावी नगराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बैठकमा समितिकी सभापति कल्याणी खड्काले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई सचेत गराए । उनले क्षमतानै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई निर्देशन दिइन् । संघीय संसदको विकास तथा प्रविधि समितिले विकास निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।