प्रमुख समाचार

पर्वतका सिडीओ ढकालले दिलाए टुहुरा बिशाललाई नेपाली नागरिकता

By लोकतन्त्र अनलाईन

March 19, 2019

पर्वत /आफुँ तीन बर्षको हुँदा बाबु आमा गुमाएका ३४ बर्षिय बिशाल शर्मा पहिलो पटक नेपाल आए । बाबु आमाको मृत्युपछि तीन बर्षको उमेरमा आसाममा मावलीमा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका शर्माले सोमबार जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र पाए । घरपरिवारका बारेमा जानकारी नहुँदै आसाम स्थित मामा घरमा हुर्केका सुबेदीले आफ्न्त र मावलीको सहयोगमा नातेदार खोज्दै जाँदा काकाहरु भेटेपछि बल्ल नागरिकता प्रमाणपत्र पाउन सकेका हुन । ‘चौतिस बर्ष सम्म भारतमा बस्दा नेपाली हुँ भन्ने मात्रै थियो’ नागरिकता लिदै उनले भने ‘आज देखि औपचारिक रुपमा नेपाली हुँ भनेर गर्व गर्न सक्ने भएको छु’ पर्वतको फलेबास नगरपालिका वडा नं १० कुर्घामा घर भै आमामा बस्दै आएका मामा बेदप्रसाद जैसीले दिदी भिनाजुको मृत्युपछि भान्जालाई संगै लगेका थिए । बिशाल साढे १ बर्षको हुँदा बुवा दयाराम सुबेदीको दमबाट मृत्यु भयो भने त्यसको डेढ बर्षपछि आमा धनेश्वरी देवी सुबेदीको पनि मृत्यु भएपछि उनी टुहुरा हुन पुगेका थिए । ‘टुहुरा एक्ला भान्जालाई हामीले लगेर पालनपोषण गरेर हुर्कार्यौ’ मामा बेदप्रसाद जैसीले भने ‘अब उनको घरपरिवार र आफन्त पनि चाहिन्छन भनेर नागरिकता लिन जन्मथलो नै लिएर आएका हौ’ बिशालले आसाममा दुग्ध ब्यबसाय गर्छन । बिबाह भने नेपालमा नै गरेका छन । उनलाई तीन पुस्ता भित्रका काकाले दाजुको छोरा हो भनेर सनाखत गरिदिएपछि प्रशासनले नागरिकता दिएको छ । तीन पुस्ताभित्रका आफन्तले छोरा हो भनेर सनाखत गरिदिएपछि टुहुरालाई नागरिकताबाट बञ्चित गर्न हुँदैन भनेर नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । ‘सबै प्रकृया पुरा गरेर, आफन्तले अंश दिने र छोरा हो भनेर सनाखत गरेपछि नागरिकता दिएका हौ’ प्रजिअ ढकालले भने । पर्वतका प्रमुख जिल्ला अधिकारीको रुपमा आएपछि गुरुदत्त ढकालले बिभिन्न कारणले नागरिकताबाट बञ्चित भएका घरेलु हिंसा पिडीत महिला, बालबालिका र पिडीतहरुलाई नागरिकता दिने अभियान नै चलाएका छन । नागरिकताको अभावमा अंश, सामाजिक सुरक्षाभत्ता पाउन नसकेकाहरु यसबाट धेरै लाभान्वित भएका छन ।