प्रमुख समाचार

पर्वत प्रशासनको यस्तो आयो निर्देशन, हातहतियार नबुझाउनेलाई कारबाही

By लोकतन्त्र अनलाईन

March 19, 2019

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा बिना ईजाजत राखिएका हातहतियार वा खरखजानाहरु फिर्ता गर्न ताकेता गरेको छ । पछिल्लो समयमा देशमा हिंसात्मक तथा आपराधिक क्रियाकलापहरु बढ्दै गएको तथा नेत्र बिक्रम चन्द नेतृत्वको माओवादीले हतियारको प्रयोग बढाएपछि विभिन्न प्रयोजनका लागि लिइएका हातहतियार बुझाउन ताकेता गरेको हो । गृह मन्त्रालयले सबै जिल्लामाहरुमा निर्देशन पठाउँदै बिना इजाजत अबैध रुपमा राखिएका हतियारहरु फिर्ता गर्न भने अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले पनि नागरिकले लाईसेन्स बिना राखेका हतियारहरु ३५ दिनभित्रमा फिर्ता गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार दर्ता नगरिएका वा दर्ता गरिएको वयक्तिको निधनपछि हकवालाका नाममा नामसारी नभएका सबै हतियारहरु बुझाउन भनिएको उहाँले बताउनुभयो । उक्त हतियारहरु जिल्ला प्रहरी कार्यालय पर्वत र नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने छ । मन्त्री परिषदको गत फागुन २८ गते बसेको बैठकले अबैध हतियारहरु नियन्त्रण गर्न भन्दै यो निर्णय गरेको थियो । प्रशासनले तोकेको समयमा हातहतियार बुझाउन ल्याएमा अबैध भएपनि कारबाही नहुने तर म्याद काटेपछि अबैध हतियार राखेको थाहा पाएमा प्रचलित कानुन अनुसार नै कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ ।