अर्थ/बाणिज्य

किन सर्यो एक महिना अघि दिदीबहिनीको महिला महोत्सव ।

By लोकतन्त्र अनलाईन

January 17, 2019

पर्वत ः रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ । यस अगाडि फागुन १७ देखि २५ गतेसम्म महोत्सवको आयोजना गर्ने गरी तयारी भैरहेको भएपनि अब भने यही माघ २५ देखि फाल्गुण ५ गते सम्म आयोजना गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता राखिएको र सोही समयमा भलिबलको महिला राष्ट्रिय टिम अन्यत्रका प्रतियोगितामा पनि जानुपर्ने सेड्युल रहेका कारण खेलाडीको समय व्यवस्थापनको लागि महोत्सवलाई अघि सारिएको चापागाईँको भनाई छ । महोत्सवमा महिला भलिबल प्रतियोगिता, दौड लगायत विभिन्न प्रतियोगिता आयोजना गरिँदै छन । तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ माघको २८, २९ र फागुन १ गते तीन दिन सम्म चल्नेछ । गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित छ । यसपटक अन्य २ क्लब पनि थप हुन सक्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेल हुनेछ । यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् । भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोले जनाएको छ । २०६६ साल फागुन २४ गते १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ । महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन हुँदै आएको महोत्सवमा यसवर्ष महिला भलिबल, दौडसहित प्रथम दिदीबहिनी डान्स आईडल, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन प्रतियोगिता हुनेछ । पर्वतका सातवटै पालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायक गायिकाको सांगीतिक प्रस्तुती, हाँस्यव्यंग्य प्रस्तुती, जनचेतनामुलक कार्यक्रम प्रस्तुती र जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पशु प्रदर्शनी, कृषिप्रर्दशनी साथै महिला उद्यमी र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम सञ्चालन हुन गइरहेको छ । साथै वाल उद्यान र रमाइलो मेला समेत महोत्सवका मुख्य आकर्षणका रुपमा रहने छन् । खसी, बोका, बाख्रा र कुखुरा तथा कृषि प्रर्दशनीको लागी आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कला र संस्कृतिको संरक्षण र घरेलु बस्तुको प्रर्बद्धन गर्दै महिलाहरुको १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर नाच्ने गाउँनेमा मात्र सीमित नराखी महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न प्रतिस्पर्धा मार्फत् चेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको पनि रेडियोकी अध्यक्ष चापागाईले जानकारी दिनुभयो ।