पत्र-पत्रिका

लामा पनि कस्ता कस्ता ! उपचार भन्दै यौनशोषण

By लोकतन्त्र अनलाईन

October 17, 2019

काठमाडौं : धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्ममगुरुसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ ।   दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवम् शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । उच्च अदालत पाटनको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको  छ ।