प्रमुख समाचार

पर्वतको थापाठानामा विद्युत् लाइनका रूख काट्दा कर्मचारीमाथि कुटपिट

By लोकतन्त्र अनलाईन

March 16, 2019

पर्वत : सामुदायिक विद्युतीकरण अन्तरगतको लाइनमा परेका रूखहरू काट्ने क्रममा पर्वतको फलेवास नगरपालिका २ थापाठानामा एक जना कर्मचारीमाथि कुटपिट भएको छ। थापाठाना सामुदायिक विद्युतीकरण उपभोक्त समितिका कर्मचारी श्याम सापकोटामाथि स्थानीय रामहरी श्रेष्ठले कुटपिट गरेका हुन्। विद्युतीय लाइनमा रहेका रूखहरूका कारण बस्ती नै जोखिममा परेपछि स्थानीय थापाठाना सामुदायिक विद्युतीकरण उपभोक्त समितिले लाइनमा परेका रूखहरू काट्ने अभियान थालेको थियो। रूख काट्ने क्रमममा श्रेष्ठको जग्गामा परेका रूखहरू काट्दा उनले सापकोटामाथि हमला गरेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष कमल खत्रीले जानकारी दिए। खत्रीका अनुसार रूखहरू काट्नुपूर्व नै श्रेष्ठले सापकोटालाई फोन मार्फत आफ्नो जग्गामा पर्ने रूखको अधिकार आफ्नो भएकोले कसैले पनि त्यो रूख काटेमा शरीर सग्लो नछोड्ने भनी धम्की दिएका थिए। आक्रमणबाट सापकोटाको छाती, गर्धन, घुँडा र हातमा चोट लागेको र स्वास्थ्य परीक्षणको लागि पोखरा लैजाँदै गरेको पनि अध्यक्ष खत्रीले बताए। कुटपिटमा संलग्न श्रेष्ठले सवारी चलाउने काम गर्दै आएका छन्। उनलाई प्रहरी नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय कार्कीनेटाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक राजेन्द्र चौधरीका अनुसार कुटपिटमा संलग्न सापकोटामाथि अुनषन्धान भइरहेको छ।