प्रमुख समाचार

पर्वतको फलेवासमा आयोजित मेला समापन, सरकारले काम गर्न नसकेको पूर्व अर्थमन्त्री महतको आरोप

By लोकतन्त्र अनलाईन

December 16, 2019

पर्वत– नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सरकारले काम भन्दा गफ बढि गरेको आरोप लगाउनुभएको छ । पर्वतको फलेवासमा आज आयोजित मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै महतले दुई तिहाईको सरकार यसअघिका गठजोर सरकार भन्दा पनि कमजोर देखिएको बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले आर्थिक रुपमा देश समृद्ध बन्नेमा शंका व्यक्त गर्नुभयो । सरकारलाई सीमा विवाद समाधानका लागि प्रमुख प्रतिपक्षी दलको जुनसुकै साथ र सहयोग रहने पनि उहाँले बताउनुभयो । नेपालको आर्थिक समृद्धिमा कृषि, पर्यटन, जलस्रोत, उर्जा, जडिबुटी नै प्रमुख भूमिकामा रहेको महतले बताउनुभयो । सरकारले जल, जमिन र वातावरणको समूचित प्रयोग गरि आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम तय गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको पालामा कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गको परिकल्पना गरेर काम अगाडी बढेको बताउँदै महतले अहिले कम्यूनिष्ट सरकारले काँग्रेसले गरेका विकास देखाएर सत्तामा पुगेको आरोप लगाउनुभयो । कार्यक्रममा पूर्व कानुनमन्त्री यज्ञवहादुर थापाले सरकारका काम बाट नागरिक सन्तुष्ट हुन नसकेको बताउनुभयो । कार्यक्रममा पूर्व साँसद ऋषिकेश तिवारी, नेपाली काँग्रेसका पूर्व सभापति नवराज गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा , जिविसमा पूर्व उपसभापती रामशर्मा पौडेल लगायतले बोल्नुभएको थियो । मेला समापन संगै भलिवल, रत्यौली, भजन, फलेवास डान्स आईडल, तेक्वान्दो प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । यूनाइटेड स्पोर्टस् क्लवको आयोजनामा मंसिर १९ देखि शुरु भएको कार्यक्रम आज समापन गरिएको हो । हरेक दिन राष्ट्रिय कलाकारहरुको सहभागितामा कार्यक्रम गरिएको थियो । सबै दिन दर्शकहरुले मेला भरिभराउ भएको थियो । क्लवले मेला पहिलो पटक आयोजना गरेको र ऐतिहाँसिक रुपमा सफल भएको क्लवका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठले बताउनुभयो ।