पर्वत जेसीजद्धारा एसियाकै ठूलो ढुंगा ‘महाशिला’ मा पर्यटन प्रवर्द्धन बोर्ड स्थापना

By लोकतन्त्र अनलाईन

November 16, 2019

पर्वत : पर्वत घुम्न आउने पर्यटकका लागि जिल्लाको आकर्षणको रूपमा रहेको एउटा गन्तव्य महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो ढुंगा भनिने ‘महाशिला’ पनि हो। महाशिला गाउँपालिका-५ लुंखुदेउरालीमा रहेको यही ढुंगाको नामबाट गाउँपालिकाको नाम पनि ‘महाशिला’ नै राखिएको छ। यसको प्रचारप्रसार गरेर पर्यटकहरू भित्र्याउनको लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरू गर्दै आएको भए पनि आशातीत रूपमा पर्यटक पुग्न भने सकिरहेका छैनन्। ‘मेहलढुंगा’ को नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै ढुंगा हो। पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित–प्रचार प्रसारमा आउन नसक्दा पर्यटकहरूको रोजाइमा पर्न सकेको छैन। झन्डै एक दशक अघिसम्म सोही ठाउँमा हरेक चाडपर्वमा मेला लाग्नाले प्रचारमा सहयोग मिलेको भए पनि अहिले मेला तथा रमाइला कार्यक्रमहरू आयोजना नगरिँदा ढुंगाको बयान कम भइरहेको छ। पर्वत सदरमुकाम कुस्माबाट सवारीमा झन्डै ३ घण्टाको यात्रामा पुग्न सकिने ठाउँमा रहेको शिलालाई स्थानीय नागरिकले भगवानको प्रतीकका रूपमा पूजाआजा पनि गर्दै आएका छन्। उक्त ‘महाशिला’ लाई एक फन्को घुम्दा बसालेको खाना (भात) पाक्छ भन्ने भनाइ छ। ‘महाशिला’ को आवश्यक प्रचारप्रसार गर्न सकेमा पर्वत जिल्लामा पर्यटक भित्रिने र यसले जिल्लाको दक्षिण क्षेत्रको पहिचान र समृद्धिमा फाइदा पुर्‍याउने भन्दै सामाजिक कार्यमा सक्रिय पर्वत जेसिज पर्यटन प्रवर्द्धन बोर्डका स्थापना गरेको छ। ‘एक पालिका : एक कार्यक्रम’ अभियान चलाएर जिल्लाका प्रत्येक पालिकाहरूमा पुगेर केही न केही काम गर्ने योजना बनाएको जेसिजले शुक्रबार महाशिलामा भने ढुंगाको पहिचान गर्न सजिलो होस र कसैले ‘महाशिला’ को फोटो खिचेर ‘सोसल मिडिया’ मा राखेका नामसहित आओस् भन्ने उद्देश्यले ‘शिला’ को नाम स्पष्टसँग देखिने गरी बोर्ड स्थापना गरिएको जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले बताए। यसअघि सामाजिक सञ्जालमा ‘शिला’ को नामसहित देखिने फोटोहरू खासै राखिएका छैनन्। ‘गुगल र फेसबुकमा शिलाको फोटो धेरैले अपलोड गरेका छन्। तर, त्यो ढुंगाको नाम के हो ? भन्नेसम्म पनि देख्न मुस्किल भयो’ आचार्य भन्छन्, ‘अब कसैले शिलामा पुगेर फोटो खिचेमा शिलाको नामसहित आउनेछ। हेर्नेहरूले यसमा चासो राख्नेछन्।’ महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायले महाशिला गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्नका लागि जेसिजले गरेको काम महत्त्वपूर्ण रहेको बताए। अभियानअन्तर्गत जेसिजले पैयुँ गाउँपालिकको त्रिवेणीको होमस्टे, पालुस्थान पर्यटकीय क्षेत्र र विहादी गाउँपालिकाको शालिग्राम शिलामा पनि पर्यटन प्रवर्द्धन बोर्ड स्थापना गर्दैछ। लुंखुदेउरालीसम्मै मोटरबाटोको सुविधा पुगेको भए पनि काम विशेषले त्यहाँ पुग्ने बाहेक ‘महाशिला’  हेर्नकै लागि जाने पर्यटक भने खासै छैनन्। यसकै माध्यमबाट पालिकामा पर्यटक आकर्षित गर्न सकिने सम्भावनालाई बुझेर गाउँपालिकाले भने ‘महाशिला’ विभिन्न देवीदेवताका मूर्तिहरू बनाउने, रंगरोगन गर्ने, पर्खाल तथा महाशिला परिक्रमाका लागि बाटो निर्माण गर्ने लगायतका योजनाहरू अघि सारेको छ।