प्रमुख समाचार

पर्वतका स्थानीय तहको आर्थिक खर्च अपारदर्शी, १३ करोड बेरुजु

By लोकतन्त्र अनलाईन

April 15, 2019

पर्वत/पर्वतका स्थानीय तहमा ठुलो रकम बेरुजु भेटिएको छ। अपारदर्शी र मनोमानी रुपमा खर्च गर्दै आएको आरोप लागेका स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले खर्चमा ठुलो रकम बेरुजु निकालेको हो। पर्वतका सातवटा पालिकामा आर्थिक बर्ष ०७४/०७५ मा १३ करोड दुई लाख ३८ हजार रुपैयाँ बेरुजु भेटिएको छ। कुश्मा नगरपालिकाको खर्च सबैभन्दा बढी अपारदर्शी देखिएको हो। कुश्मा नगरपालिकाको महालेखा परीक्षकको कार्यालयले एक अर्ब २० करोड १७ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो। त्यसमध्ये कुश्मा नगरपालिकाको तीन करोड नौ लाख ७५ हजार रुपैयाँ बेरुजु भेटिएको छ। यसैगरी पर्वतको फलेबास नगरपालिकाको एक करोड ५६ लाख ५८ हजार रुपैयाँ बेरुजु छ। बिहादी गाउँपालिकाको एक करोड आठ हजार ४६ हजार बेरुजु छ। जलजला गाउँपालिकाको दुई करोड ५७ लाख २० हजार, पैयूँको एक करोड ९७ लाख ७२ हजार, महाशिलाको एक करोड ३१ लाख सात हजार र मोदी गाउँपालिकाको एक करोड ४१ लाख ६० हजार रुपैयाँ बेरुजु भेटिएको छ।