प्रमुख समाचार

पर्वतमा २०७६ सालमा थप ४० किमी सडक कालोपत्रे हुँदै

By लोकतन्त्र अनलाईन

April 15, 2019

पर्वत /नयाँ बर्ष २०७६ को पहिलो दिनमा धेरैले सुख, शान्ति, सम्बृद्धिका कामना गरेर फेसबुक लगायतका सामाजिक सञ्जालमा शुभकामना दिए । सामाजिक सञ्जालमा शुभकामना दिने क्रममा पर्वतमा कार्यरत रहेका एक जना पुर्व कार्यालय प्रमुख जगदीश शर्माले भने पर्वत जिल्लाले नयाँ बर्ष २०७६ सडक र मोटरेबल पुलको क्षेत्रमा ठुलै उपलब्धी हासिल गर्ने फेहरिस्त सहितको शुभकामना दिए । शर्माले आफ्नो फेसबुकमा लेखेका छन ‘हामी पर्वतेको लागि २०७६ साल समृद्धिको बर्ष हुने अपेक्षा सहित नयांबर्षको मंगलमय शुभकामना !’ पर्वत जिल्लामा यस बर्ष तीन वटा नयाँ सडक कालोपत्रे सम्पन्न हुने जानकारी जिल्ला प्राबिधीक कार्यालय तथा ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) का पुर्व कार्यालय शर्माले फेसबुक मार्फत जानकारी दिएका छन । कुस्मा नगरपालिका वडा नं २ अर्मादी देखि बनौ सम्म १२ किलोमिटर, फलेबास नगरपालिकाको वडा नं १० लमायखोला देखि महाशिला गाउँपालिकाको वडा नं ५ लुंखु सम्म १३ किलोमिटर सडक आइसिआरपीले कालोपत्रे सम्पन्न गर्नेछ भने पूननिर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतले मोदी गाउँपालिका २ पातिचौर देखि वडा नं १ लप्सीबोट सम्मको १२ किमी सडक पनि यसैबर्ष पुरा गर्ने छ । पुर्वाधार कार्यालय मार्फत कुस्मा दुर्लुङ्ग सडक कालोपत्रे थपिने छ भने अन्य सडकमा पनि थोरै भाग ढलान र कालोपत्रे हुनेछन । यी सडक कालोपत्रे भएपछि पर्वतमा ३७ किलोमिटर कालोपत्रे सडक थपिनेछन । पहिले नै कालोपत्रे भैसकेपनि अहिले स्तरोउन्नती भैरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा २३ किलोमिटर पनि कालोपत्रे हुनेछ । पर्वतमा अहिले सम्म नयाँपुल देखि मालढुंगा, मालढुंगा देखि बेनी, कुस्मा नगरपालिकाको दोबिल्ला देखि कटुवाचौपारी र फलेबासको मुडिकुवा देखि लमायखोला सम्म मात्रै कालोपत्रे सडक रहेको छ । दोबिल्ला देखि ठुलीपोखरी हुँदै कार्किनेटा सम्मको सडक पनि ग्राभेल र ढलान गरेर बाह्रैमहिना चल्ने गरि स्तरोउन्नती सकिनेछ । पर्वतमा २०७६ सालमा पैंयु गाउँपालिकाको चिसापानी हुवास देखि बर्राचौर सम्म २३ कि मि, महाशिलाको लुंखु देखि हुवास सम्म १५ किमी, फलेबासको मल्यांग्दीखोला देखि देविस्थान ढिक हुँदै चन्दने जोड्ने १२ किमी, जलजला गाउँपालिकाको वारिबेनी देखि बांसखर्क सम्म जोड्ने ८.५ कि मि सडकमा कालोपत्रे गर्ने काम शुरु हुने छ । कुस्मा दुर्लुङ्ग, पाङ्ग देखि ततरकोट, डिमुवा देखि राम्जा खण्डमा पनि कालोपत्रे गर्ने काम निर्माण चरणमा हुनेछन । कालीगण्डकी लोकमार्गको सेतीबेणी देखि रानीपानी खण्डमा कालोपत्रेको काम शुरु हुनेछ । पर्वतमा बिभिन्न सडकमा पर्ने मोटरेबेल पुल समेत २०७६ मा पुरा हुनेछन । मोदिबेणी पुल, लमाएखोला पुल, सेतिबेणी पुल र जैमुनिघाट पुल, रतिखोला पुल, भुरुङ्गदीखोला पुल, अम्बोट खोला पुल र नयाँपुल मोदीखोला पुल यसैबर्ष पुरा भई यातयात चल्नेछन । यस बर्ष नै सेराखोला पुल, गेडिखोला पुल, मर्दिखोला पुल, सिब्दिखोला पुल, झिलिबराङ पुल, खाल्टेखोला पुल र सुम्साघाट पुल लगायतका पुलको निर्माण कार्य शुरु हुनेछ । पर्वत जिल्लाका विभिन्न ७ वटा सडकहरुको १ सय किलोमिटर भन्दा बढी कालोपत्रे स्तरमा स्तरवृद्धी गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भै कार्यान्वयनको लागि २०७६ सालमा नै तयार हुनेछन भने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा स्तरोन्नती र कालोपत्रे गर्ने काम शुरु हुनेछ भने सडक डिभीजन मार्फत पनि धेरै पुल बन्नेछन । पर्वतमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, प्रतिनिधीसभाका सदस्य पदम गिरी, प्रदेशसभाका सदस्यहरुले निरन्तर सडक कालोपत्रे गर्ने, स्तरउन्नती गर्ने, सडक पुल बनाउने कामका लागि निरन्तर पहल गर्दै आएका छन ।