पर्वत–पर्वतको कुस्मा नगरपालिका–१ का वडासदस्य खगेन्द्र रिजालले निर्वा्चित भएपछि भनेका थिए, ‘म मतदाताका लागि काम गर्छु ।’ अहिले उनलाई आफू जनप्रतिनिधि हो कि होइन जस्तो अनुभूति भएको छ ।
जलजला गाउँपालिका–३, माझफाँटकी कोपिला बरुवाल र विष्णु सुनारलाई पनि मतदाताले भोट दिएरै जिताएका हुन् । स्थानीय तहमा हुने विकास निर्माणदेखि हरेक क्षेत्रमा उनीहरूको समान भूमिका हुनुपर्ने हो ।
वडा, नगरपालिका र गाउँपालिकामा हुने हरेक बैठकमा ताली बजाउनेबाहेक भूमिका नपाएपछि वडा सदस्यमा वितृष्णा पैदा भएको छ । निर्वाचनताका उत्साही देखिएका उनीहरू निराश बन्न थालेका छन् । कुस्मा–१ का सदस्य रिजालले वडामा हुने बैठक र बजेट बाँडफाँटमा समान सहभागी हुने गरे पनि यही काम गर्ने भनेर जिम्मेवारी नपाएको बताए । ‘हामी जनताकै भोटले जितेर आएका हौं,’ कुस्मा–७ का परशुराम पुरीले भने, ‘हामीले राखेका कुरामा सबैले छलफल गरेर अघि बढ्नुपर्ने हो, भनेजस्तो भएकै छैन ।’
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा ६१ वडा छन् । हरेक वडामा ५ जना सदस्य छन् । ‘हरेक परिवारमा महिलाको भूमिका कमजोर हुन्छ,’ जलजला–३ की बरुवालले भनिन्, ‘राजनीतिमा सक्रिय भए पनि महिलाका कुरा सुन्ने र निर्णय लिने संस्कार छैन ।’ महिला सक्षम नभएका कारण निर्णायक तहमा कठोर भएर बोल्न नसकेको उनले बताइन् । आरक्षण कोटामा निर्वा्चित महिलाको सहभागिता उपस्थितिका लागि मात्रै भएको उनको गुनासो छ ।
दलित कोटाबाट निर्वा्चित उम्मेदवारहरू आफ्नो भूमिका र जिम्मेवारीका विषयमा अनभिज्ञ छन् । ‘हाम्रो भूमिका के भन्ने थाहा छैन,’ जलजला–३ का विष्णु सुनारले भने, ‘बैठकमा बोलाए जाने हो । नत्र घरकै काममा व्यस्त हुन्छु ।’ डकर्मी काम गर्दै आएका उनले वडा सदस्यले पाउने पारिश्रमिक कति हो, कहिले–कहिले पाइन्छ थाहा नभएको बताए । वडा कार्यालय र गाउँपालिकाका सबै बैठकमा समेत बोलाउने नगरिएको उनको गुनासो छ ।
कतिपय वडामा कर्मचारी र वडाध्यक्षले नीतिगत निर्णय गर्ने गरेको सदस्यहरूको गुनासो छ । बिहादी–२, बर्राचौरका शिव कुँवरले महत्त्वपूर्ण निर्णयबारे समेत वडा सदस्यले जानकारी नपाउने बताए । ‘वडाध्यक्ष र कर्मचारी मिलेर अरू जनप्रतिनिधिलाई पाखा लगाउने काम भइरहेको छ,’ उनले भने, ‘हामीले चित्त बुझाउने अवस्था छैन । जनताको मतले विजयी भएकाले हामीले पनि जवाफ दिनुपर्छ ।’
कतिपय वडामा भने वडाध्यक्ष र सदस्यहरू समान भूमिकामा छन् । कुस्मा–७ का सदस्य निलराज पुरीले हरेक निर्णयमा वडाध्यक्ष बराबरकै भूमिका रहेको बताए । हस्ताक्षर अध्यक्षको चल्ने भएकाले कतिपय कुरामा चाहेर पनि हच्किनुपर्ने अवस्था रहेको उनले बताए । नगर कार्यपालिकाले भने रायसुझाव लिएरै कामकाज गर्दैआएको उनले बताए ।
इकान्तिपुरबाट