पत्र-पत्रिका

प्रचण्डले मागे नेकपामा एक नेतृत्व

By लोकतन्त्र अनलाईन

September 15, 2019

झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन्। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे। संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकार सहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरे। पूर्वएमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले जननेता मदनभण्डारी आफ्नो सहकर्मी राजनीतिकज्ञ भएको र विगतमा पूर्वएमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरेको समाचार नागरिक दैनिकमा छ। ‘जननेता मदन भण्डारी एउटा कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो, म अर्को पार्टीको,’ अध्यक्ष दाहालले भने,‘ उमेर म उहाँजति नभएपनि हाम्रो दर्जा उस्तै थियो। त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरुलाई आग्रह गर्दछु।’