पर्वत–हिजोबाट स्रोहश्राद्ध शुरु भएको छ । पर्वतको मोदीबेनीमा तिथीका श्राद्ध संगै गरुड महापूराण, पितृ महायज्ञ, पूवचन लगायतका कार्यक्रम पनि शुरु भएका छन् । तिथीका श्राद्ध गण्डकीका तटमा सम्पन्न गर्दा मोक्ष प्राप्ती हुने र दिवंगत आत्माले दिएको पीण्डदान पाउने विश्वासका साथ मोदीबेनी घाटमा आजदेखि श्राद्धका कार्यक्रम शुरु गरिएको हो । पहिलो दिन हिजो १० जनाले पितृको संझनामा श्राद्ध गरेका प्रचार संयोजक युवनाथ गौडेल रेग्मीले जानकारी जानकारी दिनुभयो । मोदीबेनीमा विगत वर्ष जस्तै यसवर्ष पनि विभिन्न धार्मिक अनुष्ठान सञ्चालन गरिएको गौँडेलले बताउनुभयो । हिजो कार्यक्रमको पूर्वाङग गरिएको हो । विभिन्न धार्मिक ग्रन्थहरुमा कालगतीले झुण्डिएर, हाम फालेर, आगोमा डढेर, गाडी दुर्घटना भएर, रुखबाट लडेर, विष सेवन गरि कालगति नपुगि मृत्यु भएकाहरुले स्वर्गमा बास पाउन मुस्किल हुने भनेर उल्लेख गरिएको छ । स्रोह श्राद्धमा गण्डकीको तटमा गरिने पिण्डदानले उनीहरुले पार पाउने मान्यता रहेको हुनाले मोदीबेनीमा श्राद्ध गर्न देशका विभिन्न जिल्लाबाट श्राद्धका लागि मानिसहरु आउने गरेका छन् । विधिपूर्वक व्राह्मणले पाठ गरेर सक्नेले शुल्क तिरेर र नसक्नेले निशुल्क रुपमा श्राद्ध गर्न पाउने व्यवस्था गरिएको मोदीबेनी नसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले बताउनुभयो । दिवंगत पितृको संझनामा भक्तजनहरुले पैसा, फलफुल, पूजा सामाग्री र गरगहना समेत दान गर्दै आएका छन् । मोदीबेनीमा आउने भक्तजनहरुलाई आयोजकले श्राद्धका लागि आवश्यक सामाग्री र पण्डितको समेत व्यवस्था गर्दै आएको बैरागीले बताउनुभयो ।