प्रमुख समाचार

पर्वतको कुश्माबजारबाटै बरामद गरिएको मदिरामा मरेका मुसा र थोत्रा कपडा

By लोकतन्त्र अनलाईन

June 14, 2019

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा र आसपासका क्षेत्रबाट ठूलो परिमाणमा अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा नष्ट गरेको छ ।प्रहरीले कुस्मा नगरपालिकाका ३ वटा वडामा बरामद भएको १ हजार ६ सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको हो । मदिरा बनाउन तयारी गरिएको कच्चा पर्दाथमा मरेको मुसा, थोत्रा कपडा पनि भेटिएका छन । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका वडा नं. ४, ५ र ६ मा छापा मारेर अबैध घरेलु मदिरा बरामद गरेको थियो । प्रहरीले केही मात्रामा तयारी अवस्थामा रहेको मदिरा र बढी मात्रामा मदिरा बनाउनका लागि मर्चा प्रयोग गरेर कुहाइएको अवस्थामा राखिएको तरल पर्दार्थ सहितको लेदो बरामद गरेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । बजारमा छापा मारेर घरेलु मदिरा बनाउन प्रयोग गरिने ५५ ड्रम तरल पदार्थ सहित मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाहरु पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस अगाडि पनि पटक पटक पनि घरेलु मदिरा उत्पादन नगर्न अनुरोध गर्दै कुश्मा बजार सहित दोबिल्ला, डिमुवा, पातिचौर, छमर्के लगायतका ठाउँमा छापा मारेर घरेलु मदिरा नष्ट गरिएको भएपनि अबैध रुपमा मदीरा उत्पादन गर्ने क्रम नरोकिएपछि छापा हानेर नै बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । बरामद गरिएको मदिरा र मदिराजन्य पदार्थलाई बिहीबार साँझ जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । बरामद गरिएको मदिरा तयार गर्नका लागि मर्चा हालेर राखिएका ड्रमहरुमा पुराना कपडा, कुहिएको चाउमिन लगायतका खाद्य बस्तु राखेको र तिनीहरुमा किरा पर्नुका साथै मुसा समेत मरेको भेटिएको छ ।यसैबीच, कुश्माकै छमर्के स्थित गणेश चोकमा फडानी गरिएको गाँजाका बोटहरु पनि बिहीवार नै नष्ट गरिएको छ । पर्वत प्रहरीले अबैध मानिएको गाँजाका ३ सय ७० ओटा बोटहरु केही दिन अगाडि फडानी गरेको थियो । जनप्रतिनिधि र पत्रकारकै रोहबरमा ती गाँजाका बोटहरु जलाईएको हो । अबैध रुपमा हुने कुनै पनि कारोबारको नियन्त्रण गर्नका लागि पर्वत प्रहरीले आप्mनो योजना अनुसार बिभिन्न कामहरु गरिरहेको प्रहरी निरीक्षक राजन रायमाझीको भनाई छ ।