प्रमुख समाचार

पर्वतको कुश्मामा बैकल्पिक आयआर्जनका लागि अन्तरवाली व्यवस्थापन तालिम सम्पन्न

By लोकतन्त्र अनलाईन

June 14, 2019

पर्वत–कृषकहरुलाई बैकल्पिक आयआर्जनका लागि अन्तरवाली व्यवस्थापन तालिम पर्वतको कुश्मामा सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोग र सोर्डेक नेपालको आयोजनामा तालिम संचालन गरिएको हो । मुख्यगरी व्यवसायिक रुपमा कफि खेती गर्दै आएका जिल्लाका कृषकरुका लागि उक्त तालिम प्रदान गरिएको हो । एउटै बाली लगाउँदा कृषकहरुलाई वर्षमा एकपटक मात्र आम्दानी हुने तथा एउटै जमिनवाट पनि फरक फरक बालीनाली लगाउँदा धेरै आम्दानी लिन सकिने बारेमा सहजीकरण गरिएको थियो । तालिममा सहभागि कृषकहरुले आफुले लगाएको कफि खेतीको अवस्था, समस्या र चुनौतीका बारेमा गुनासाहरु राखेका थिए । लामो समयदेखि कफि खेती गर्दै आएपनि भनेजस्तो आम्दानी गर्न नसकिएको र उचित बजार मुल्य समेत नपाउँदा समस्या भएको बताएका छन् । उनिहरुले कृषकले दुःख अनुसारको कफिको मुल्य नपाएको बताएका थिए । कार्यक्रममा जिल्ला कफि सहकारी संघका अध्यक्ष तथा कफि उद्यमी भवानीप्रसाद शर्माले पर्वतमा कफि खेतीको विस्तार र विकासका लागि लामो समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएपनि कृषकहरुबीच एकरुपता नहुँदा समस्या भएको बताउनुभयो । उहाँले पछिल्लो समय पर्वतमा उत्पादित कफि बिदेशमा निर्यात हुन थालेपछि कृषकहरुको आकर्षण बढ्दै गएको बताउँदै कफिको लागि पर्वतको पहिचान राम्रो भएकाले कृषकहरुलाई जतिसक्दो उत्पादन बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल पर्वतका संयोजक खेम रोकायाले आफ्नो संस्थाले जिल्लामा उद्यमी, कृषक र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै कफि कृषकहरुका हरेक समस्यामा सहयोग गर्ने बताउनुभयो । उहाँले निर्वाहमुखि कफि खेतीलाई व्यावसायमुखि बनाउन पनि आग्रह गर्नुभयो । सो अवसरमा सोडेक नेपालका कार्यक्रम संयोजक देविप्रसाद तिमिल्सिना, सचिब कविता विक लगायतले बोल्नुभएको थियो । तालिमकै अवसरमा पाँचवटा कफि कृषक समुहलाई मोस्चर मेशीन र र पाँच वटा सहकारीलाई घुम्ती कोषका लागि रु ८ लाख ४० हजार रुपैया पनि वितरण गरिएको थियो । कार्यक्रमको संचालन सोडेक नेपालका उद्यम विकास अधिकृत रमेश रिजालले गर्नुभएको थियो ।