प्रमुख समाचार

पर्वतको ठुलीपोखरीमा रहेको ऐतिहासिक पोखरी संरक्षणका लागि बन्यो समिति, अध्यक्षमा सापकोटा

By लोकतन्त्र अनलाईन

May 14, 2019

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको मानव निर्मित ऐतिहासिक ठुलो पोखरीको संरक्षण गर्न थालिएको छ । पोखरी संरक्षणका लागि चालु आर्थिक वर्षमै गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयवाट रकम बिनीयोजन भएपछि काम शुरु गर्न लागिएको हो । पोखरीलाई ममंत संभार गरी बाह्रै महिना पानी अडाउनका लागि चालु आर्थिक वर्षभित्रै काम सक्नेगरी तयारी भैरहेको छ । यसैबीच ठुलीपोखरीमा सम्पन्न सरोकारवालाहरुको भेलाले ढाकाराम सापकोटाको अध्यक्षतामा ११ सदस्यीय ठुलीपोखरी संरक्षण समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा युगनाथ पौडेल, सचिबमा बाबुराम पौडेल र कोषाध्यक्षमा सर्मिला सुवेदी रहनुभएको छ । समितिका सदस्यहरुमा गुमाकुमारी शर्मा, लक्ष्मी सुनार, विनबहादुर विक, नारायण विक, टंक लामिछाने, भिमबहादुर विक र राजेश्वर सुवेदी रहनुभएको छ । त्यसैगरी मेघनाथ सुवेदीको संयोजकत्वमा सल्लाहार समिति समेत चयन गरिएको छ । जसमा वडा अध्यक्ष राजेन्द्र पौडेल, हरिप्रसाद लामिछाने, हेमराज सापकोटा, कुमार सुवेदी र गणेश पौडेल रहनुभएको छ । करिब एक सय वर्ष भन्दा अघि निर्माण भएको उक्त पोखरी संरक्षणको अभावमा पुरिदै जान थालेको थियो । पोखरीलाई मर्मत गरी बाह्र्रैमास पानी रहने, मन्दिर निर्माण गर्ने लगायत पर्यटकीय दृष्टिकोणले विकास गर्ने लक्ष्य राखिएको छ । उक्त पोखरीको संरक्षण कार्यको शिलन्यास जेठ १० गतेदेखि शुरु गर्ने तयारी भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलन्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । पोखरी सँगै ठुलीपोखरी खानेपानी तथा सरसफाई आयोजनाको पनि शिलन्यास गर्ने कार्यक्रम रहेको ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।