प्रमुख समाचार

युवा संघ पर्वतको संयोजकमा थमनारायण पौडेल र सहसंयोजकमा बलराम नेपाली

By लोकतन्त्र अनलाईन

November 14, 2019

पर्वत– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो । जस मध्ये पर्वतको संयोजकमा युवा संघका अध्यक्ष थमनारायण पौडेललाई जिम्मेवारी दिएको छ । भने सह संयोजकमा पूर्व वाईसियलका बलराम नेपालीलाई छनौट गरेको छ । युवा नेता पौडेल तत्काली एमाले निकट अनेरास्ववियू हुँदै युवा संघमा सक्रिय राजनीतिमा रहेका छन् । केन्द्रीय कमिटिले जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै उनले युवाहरुको हक हितका लागि निरन्तर लागिरहने बताएका छन् । त्यस्तै बागलुङको संयोजकमा रेशम घर्ति र सहसंयोजकमा रमेश घर्ति, म्याग्दीको संयोजकमा प्रदिप शाहि र सहसंयोजकमा सन्दिप खत्री रहेका छन् । संघले लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकेको छैन । दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए । ती दुई जिल्लाका संयोजक पछि तोकिने जानकारी राष्ट्रिय युवा संघ नेपालका एक नेताले दिए । संघले काठमाडौं संयोजकमा साविकको वाईसीएलका तर्फबाट शिशिर तामाङलाई तोकेको छ। त्यस्तै चितवन संयोजकको जिम्मेवारी साविकको वाईसीएलतर्फकै मोदनाथ न्यौपानेले पाएका छन्। ललितपुर संयोजकमा साविकको युवा संघ नेपालका गोविन्द थापा तोकिएका छन्। त्यसैगरी मोरङ संयोजकको जिम्मेवारी साविकको युवा संघ नेपालका नीवन पौडेलले पाएका छन्। त्यस्तै कैलाली संयोजक साविकको युवा संघ नेपालका राजु बम तोकिएका छन्। ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ। युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ ।