प्रमुख समाचार

पर्वतको शंकरपोखरीका असिना पिडित कृषक भन्छन्– ‘हात जोडेर भोट माग्न आउने जनप्रतिनिधि, पिडामा फर्केरै आउँदैनन्’

By लोकतन्त्र अनलाईन

June 13, 2019

पर्वत- असिनाले क्षति पुर्‍याएको फलेवास नगरपालिका–३ शंकरपोखरीका किसानहरु राहत नपाउँदा चिन्तित बनेका छन्। असिनाले घरका छानाहरू, नगदे तथा खाद्यान्न बाली पूर्ण रूपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको उनीहरुको गुनासो छ। पुर्कोट, रुग्दी, कुँडापानी, पात्लेखेत, चाम्लेश्वार, भलपोखरा, देउपुजा, थुम्का, थापाथर, भैरवनाथ लगायतका गाउँका असिनापीडित भएका छन्। पुर्कोटमा रहेका करिब ५० घर दलित परिवार रहेका छन्। उनीहरुको मकै असिनाले सोत्तर पारेपछि गाईवस्तुलाई खुवाउनु परेको बताए। ‘कसैले केही राहत दिएको छैन। न घरमा बीउ छ न त मकै र तरकारी नै रह्यो,’ स्थानीय नारायण परियारले भने।  असिनाले क्षति भएपछि नगरप्रमुखसहितको टोलीले अवलोकन गरेको भए अहिलेसम्म राहत नपाएको लक्ष्मी भण्डारीले बताइन्। खेतबारीमा लगाइको ८० प्रतिशतभन्दा बढी बाली क्षति हुँदा समेत जनप्रतिनिधिहरूले राहत उपलब्ध गराउन चासो नदिएको उनीहरुको गुनासो छ। नगर उपप्रमुख मञ्जु अधिकारीले भने क्षतिबारे विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँछिन्। ‘जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्रसहित स्थानीय तहले पनि क्षतिबारे विवरण सङ्कलन गरेका छन्,’ उनले भनिन्, ‘कृषकहरू ठूलो मारमा पर्नुभएको छ, राहत उपलब्ध गराउँछौं।’