खेलकुद

दिदीबहिनी कप महिला भलिबलको उपाधि एपिएफलाई

By लोकतन्त्र अनलाईन

February 13, 2019

पर्वत : पर्वतमा भएको तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। लिग कम नक आउटको आधारमा बुधबार भएको फाइनल खेलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै सशस्त्रले प्रतियोगिताको उपाधि उचालेको हो। बेस्ट अफ फाइभको आधारमा भएको खेलमा खेलिएका ४ सेटमध्ये शसस्त्रले ३ सेट आफ्नो पोल्टामा पारेको थियो। शसस्त्रले २५–१८, २६–२४ र २५–२१ को सेट जितेको थियो भने डायमण्डले २६–२४ को एक सेट जितेको थियो। विजेता बनेको एपिएफले नगद २ लाख रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको न्यू डायमण्डले नगद १ लाख रुपैयाँसँगै ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। यस्तै, बुधबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै प्रहरीको नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो बनेको छ। खेलिएका ४ सेटमध्ये पुलिसले २५–१८, ३१–२९ र २५–१६ को सेट जितेको थियो भने आर्मीले २५–१८ को एक सेट मात्र आफ्नो पोल्टामा पारेको थियो। महिलाहरूको व्यवस्थापनमा मात्र संचालनमा रहेको रेडियो दिदीबहिनीले आयोजना गरेको ११ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गरिएको हो। रेडियोले आफ्नो स्थापनाको दिवसमा हरेक वर्ष प्रदेश स्तरीय महिला महोत्सवको आयोजना गर्दै आइरहेको छ। रेडियोले यस वर्ष नवौँ स्थापना दिवस मनाइरहेको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले बताइन्।