प्रमुख समाचार

पर्वतका सरकारी निकायको समिक्षा ः तीनै तहका सरकारबीच समन्वय भएन

By लोकतन्त्र अनलाईन

November 13, 2019

पर्वत ः– मुुलुकमा रहेका तीनै तहका सरकारका बिचमा समन्वय नहुँदा जिल्लामा बिकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले ब्यक्त गरेका छन । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक बर्ष ०७५÷०७६ को बार्षिक समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले संघ, प्रदेश र स्थानिय तहका बिचमा समन्वयको अभाब खड्किएकाले जनअपेक्षा अनुसारका काम हुन नसकेको बताएका हुन् । कार्यक्रमका सहभागीले स्थानीय तहका जनप्रतिनिधिहरु र स्थानीय तहका कामहरु जवाफदेही र पारदर्शी हुनुपर्ने कुरामा जोड दिइएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका साँसद पदम गिरीले जनप्रतिनिधिहरु जवाफदेही र पारदर्शी नभए सम्म बिकास निमार्णले गति लिन नसक्ने बताउनुभयो । सांसद गिरीले स्थानीयका मात्रै होइन प्रदेश र संघका जनप्रतिनिधिहरु समेत जनताप्रति उत्तरदायी र विकास प्रति प्रतिवद्ध हुन आवश्यक छ भन्नुभयो । ‘जनता प्रति उत्तरदायी नहुँदा जनप्रतिनिधी र बिकास निर्माणको काम समेत उद्देश्यहिन बन्न सक्छ’ उहाँले भन्नुभयो ‘जनउत्तरदायी शासन र बिकास अहिलेको आबश्यकता हो, यसले मात्रै देश सम्बृद्ध हुन्छ’ गण्डकी प्रदेशसभा सदस्य जुनादेबी नेपालीले प्रदेशका धेरै योजनाहरुमा स्थानिय तहले सहकार्य र साझेदारी गर्न सक्ने उल्लेख गर्दै दुई तहका बिचमा समन्वय र सहकार्यबाट धेरै काम अघि बढाउन सकिन्छ भन्नुभयो । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले जनप्रतिनिधि र समन्वय समितिले गरेका निणर्यहरु कार्यान्वयन गर्दा मात्रै जनअपेक्षा पुरा हुन्छ भन्नुभयो । उहाँले तीन तहका सरकारको समन्वयको अभावमा योजनाहरुमा दोहोरोपना आउने खतरा औल्याउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानीय तहहरुका साझा योजनाहरु पहिचान गर्दै संघ र प्रदेशसंग समन्वय गर्न जरुरी छ भन्नुभयो । उहाँले अहिले पनि स्थानीय तहले माथिल्ला तहहरुसँग समन्वय गर्न नचाहेको र आफुँलाई नै सर्बेसर्वा ठान्दा धेरै कुरा बिग्रएका छन भन्नुभयो । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले माथिल्ला तहरुले कार्यक्रम लाद्ने तर स्रोत र जनशक्ति स्थानीय तहमा पठाउन नखोज्नु संघीयताको मर्म बिपरित हो भन्नुभयो । उहाँले संघीयताको मर्म अनुसार काम गर्ने हो भने स्थानीय तहमा जनशक्ति, बजेट बढीभन्दा बढी पठाउन जरुरी छ भन्नुभयो । कार्यक्रममा जलजलाका अध्यक्ष यामबहादुर मल्ल, मोदीका अध्यक्ष प्रेम पौडेल, विहादीका अध्यक्ष कमल भुसाल लगायत सातै स्थानीय तहको सहभागिता थियो । कार्यक्रममा पर्वतका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिकांश स्थानीय तहका प्रस्तुतीमा तीनै तहका सरकारका बिचमा समन्वय हुन नसकेको धारणा राखेका थिए । स्पष्ट निति नबन्दा शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवाका शाखाहरुमा काम सम्पादन गर्न नसकेको अधिकृतहरुको प्रस्तुतीमा उल्लेख छ । स्थानीय तहहरुले कर्मचारी अभावमा काम गर्न नसकेको, बजेट पुर्णरुपमा प्राप्त नहुँदा कामको राम्रो प्रभाव जनताका बिचमा राख्न नसकेको लगायतका समस्याहरु राखेका थिए । अधिकाशंले प्राप्त बजेट पुर्णरुपमा उपयोग गर्न कठिनाई भएको पनि बताएका छन् ।