प्रमुख समाचार

पर्वतको राम्जादेउरालीका असिना पिडित लाई घरमै पुगेर राहत वितरण

By लोकतन्त्र अनलाईन

June 12, 2019

पर्वत– वर्षासँगै आएको असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पिडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ । यहि जेठ ९ गते बिहीवार आएको भिषण असिनापानीका कारण बालीनाली सँगै घरवास समेत गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतवार र सोमवार गरी गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीका ५२ जना पिडित परिवारलाई क्षतिको विवरण अनुसार १ लाख ९८ हजार रुपैया वितरण गरिएको हो । असिनाले घरको छाना पुर्ण रुपमा भत्किएका परिवारलाई ६ हजार, आंशिक क्षति भएकालाई ४ हजार र सामान्य क्षति भएकाहरुलाई २ हजार रुपैयाका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिए । उनका अनुसार १५ जनाको घरको छाना पुर्ण रुपमा क्षति भएको छ भने १७ जनाको आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाईएको थियो । जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पिडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् । असिनाका कारण उक्त क्षेत्रमा लगाईएको वालीनाली समेत पुर्ण रुपमा क्षति भएको भएपनि प्रशासनले घर क्षति भएका पिडितहरुलाई मात्र राहत वितरण गरेको उनले बताए । वालीनालीको क्षति भने सम्वन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलव्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ । असिनाले घरको छाना बस्नै नहुनेगरी छेडिदिएको छ, प्रशासनबाट थोरै भएपनि राहत पाउँदा खुुसी लागेको स्थानीय पिडित हुमबहादुर क्षेत्रीले भने–‘अव यसैमा थपथाप पारेर नयाँ टिन किनेर छाउने बिचार गरेको छु ।’ उनले राहतका लागि गाउँपालिकाका पनि अनुरोध गरेको बताउँदै घर भन्दा पनि बढि क्षति बालीनालीमा भएको गुनासो गरे । उनले अन्नवालीको क्षतिपुर्ति दिन माग समेत गरेका छन् । पर्वतका झण्डै एक सय वर्ष पछि ठुलो असिना परेको हो । असिनाले जिल्लाका सातवटै स्थानीय तहका कृषकहरु मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफलु, अन्नवाली र बिऊबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । तरकारी पकेट अन्तर्गत झण्डै ५० लाख रुपैयाका टनेलहरु नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ भने तीन करोड भन्दा बढिको तरकारी र अन्नवाली नष्ट गरेको ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । सवैभन्दा बढि मोदीमा र कुश्मा, फलेवास, महाशीला, र पैंयुमा समेत असिनाले नोक्सानी पु¥याएको छ ।