प्रमुख समाचार

धार्मिक पर्यटन समृद्धिको प्रमुख आधार : मन्त्री लम्साल

By लोकतन्त्र अनलाईन

July 11, 2019

तनहुँ – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धार्मिक पर्यटन समृद्धिको प्रमुख आधार रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्तिपार्कभित्र निर्माणाधीन कालिका मन्दिरमा मूर्ति प्रतिस्थापन गर्न आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लम्सालले धार्मिक पर्यटन महत्वपूर्ण रहेको चर्चा गर्दै मठमन्दिर संरक्षणका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो । सहिद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मन्दिर निर्माणले महत्वपूर्ण योगदान राख्ने बताउँदै मन्त्री लम्सालले मन्दिरको निर्माण कार्यमा प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । विकास निर्माणमा सर्वसाधारणको सहकार्य अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले विकासप्रति सर्वसाधारणको लगावले सरकारलाई काम गर्न प्रेरणा दिने चर्चा गर्नुभयो । मन्त्री लम्सालले काठमाडौबाट पोखरा आउने पर्यटकलाई दमौलीमा झारेर मन्दिरसम्म आउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । बिरामी भएपछि अस्पताल जाने होइन बिरामी नै नहुन मन्दिर आउनुपर्ने वातावरण सिर्जना गर्न सक्नुपर्नेमा मन्त्री लम्सालले जोड दिनुभयो ।

गण्डकी प्रदेश सांसद डोवाटे विश्वकर्माले पर्यटनबाटै समृद्धि सम्भव रहेकोले तनहुँ कालिका मन्दिरले उक्त लक्ष्य पूरा गर्न सहयोग पु¥याउने बताउनुभयो । गण्डकी प्रदेश सांसद सरिता गुरुङले धर्म संस्कृति संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपाने, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठ लगायतले तनहुँ कालिका जिल्लाकै शान रहेकोले यसलाई पूर्ण रुपमा सम्पन्न गराउन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।