प्रमुख समाचार

पर्वतको चुवाकी क्यान्सर पिडित सुस्मिताको उपचारका लागि प्रवासीको सहयोग

By लोकतन्त्र अनलाईन

June 11, 2019

पर्वत– हड्डीको क्यान्सबाट पिडित यहाँकी एक बालिकाको उपचारका लागि खाडी मुलुकमा रहेका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । हाडको क्यान्सरबाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी चौध वर्षिया बालिका सुस्मिता शर्माको उपचारका लागि रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । चुवाका कृष्ण गिरी र खुमनाथ पोखरेलको सक्रियतामा संकलन भएको रु १ लाख ११ हजार रुपैया मंगलवार विहान पिडित बालिकाका बाबु राजेन्द्र भुवाँजीलाई हन्तान्तरण गरिएको छ । गिरी र पोखरेलले व्यक्तिगत रु १०÷१० हजार रुपैया सहयोग गरेका थिए भने अन्य रकम उनिहरुको पहलमा संकलन भएको हो । हड्डीको (बोन) क्यासर रोग लागेपछि विगत तीन महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी सुस्मितालाई ठुलो धनराशि आवश्यक पर्ने भएकाले प्रवासमा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको गिरीले जानकारी दिनुभयो । लामो समय पर्वत र पोखराका विभिन्न अस्पतालमा परिक्षण गर्दा पनि रोग पत्ता नलागेपछि अन्तिममा क्यान्सर अस्पतालमा रिफर गरेपछि पत्ता लागेको हो । अहिलेसम्म रु ५ लाख रुपैया भन्दा बढि खर्च भैसकेको सुस्मिताका बाबु राजेन्द्रले गुनासो गर्नुभयो ।

अझै कति समय र कति खर्च लाग्छ भन्ने अनिश्चित रहेको छ । शल्यक्रिया र किमो चढाउँदा एकैदिन लाखौ रकम खर्च हुने गरेको बताउँदै घरमा भएको सवै नगद सकिएकाले कसैले आर्थिक सहयोग गरिदिएमा मात्र उपचार सम्भव हुने बताउनुभयो । आर्थिक अवस्था ज्यादै न्यून रहेको उक्त परिवारमा छोरीको उपचारका लागि धेरै आर्थिक समस्या रहेको कुश्मा नगरपालिका वडा नं. ८ चुवाका अध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रवासीले पठाएको उक्त रकम कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले एक कार्यक्रमका बीच मंगलवार विहान हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै जोशीले नगरपालिकाको तर्फवाट तत्कालका लागि रु १५ हजार रुपैया सहयोग गर्ने र अन्य सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उनको उपचारका लागि कुश्मा नगरपालिका वडा नं. ८ चुवाले पनि रु २५ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै स्थानीय अथवा समुहले झण्डै एक लाख ६० हजार रुपैया संकलन गरी पिडितलाई हन्तान्तरण गरिसकेको जनाएको छ । कक्षा १० मा अध्यययनरत बालिका एक्कासी बिरामी परेपछि परिवार पनि समस्यामा परेको छ भने बालिकाको भविष्य समेत अन्यौलमा परेको छ । उनको गत साता पहिलो शल्यक्रिया समेत गरिएको थियो । उनको दाहिने खुट्टाको हड्डीका क्यान्सर देखिएको हो । रकम हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने स्थानीय दुर्गा गिरी, पुजा गिरीको पनि उपस्थिति रहेको थियो ।