खेलकुद

पर्वतको फलेबासमा प्रथम मेयरकप शुरु

By लोकतन्त्र अनलाईन

May 11, 2019

पर्वत / पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम शुक्रबार देखि फलेबासको माझीगाउँ चौर खेल मैदानमा तामझामका साथ शुरु भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ वैशाख २७ देखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभयो । स्थानिय संस्कृति, झाँकी, मार्चपास र बाजा गाजा सहित कार्यक्रम भब्यताका साथ शुरु भएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहेको छ । नगर भित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, सेभेन ए साइड फुटबल आयोजना गरिएको छ । एथलेटिक्स र भलिबल तर्फ बिद्यालयहरुले प्रतिष्पर्धा गर्ने छन भने सेभेन ए साइड फुटबल प्रतियोगितामा वडास्तरीय फुटबल क्लबहरुका बिचमा प्रतिष्पर्धा हुनेछ ।प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गण्डकी प्रदेशका हरेक पालिकामा एक एक वटा सुबिधा सम्पन्न रंगशाला निर्माण गर्ने लक्ष्य रहेको बताउँदै खेलकुद र खेलपर्यटनलाई प्राथमिकता राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभयो । उहाँले माझीगाउँ चौरलाई खेलमैदान र रंगशालाको रुपमा बिकास गर्न आगामी बर्षको बजेट देखि नै कार्यक्रम शुरु गरिने आश्वासन समेत दिनुभयो । प्रतिनिधीसभाका सदस्य पदम गिरीले खेलकुदको बिकासबाट युवाहरुमा अनुशासन र कर्तब्य प्रति इमान्दारीता बढाउने भएकाले यस्ता प्रतियोगिताहरु आवश्यक भएको कुरामा जोड दिनुभयो । राष्ट्रपती रनिङ शिल्ड र प्रथम मेयर कप खेलकुद प्रतियोगिता कै सन्दर्भ पारेर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीका बीच मैत्रीपूर्ण फूटवल खेल समेत सम्पन्न भएको छ । मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधीलाई १ः० गोल अन्तरले बिजय हासिल गरेको छ ।