प्रमुख समाचार

तिमिल्सिनालाई नागरिक अभिनन्दन, भाबुक हुँदै भने–’उतिवेलै तलमाथि भएको भए पर्वतले यो अवसर कहाँ पाउँथ्यो होला र’ ………!

By लोकतन्त्र अनलाईन

February 11, 2019

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृह जिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ । गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल भएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आइतवारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फुलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागि अतिथि र दर्शकहरुले अभिनन्दन गरेका हुन् । कार्यक्रममा सहभागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश सभाका सदस्य तथा मन्त्रीहरु, नेपाल सरकारका सचिब र दर्शकहरुले फुलमाला लगाएर अभिनन्दन गरेका थिए । उनिहरुले पर्वत जिल्लाकै इतिहासमा राज्यको सवैभन्दा ठुलो तहमा पुग्न सफल भएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वास समेत व्यक्त गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पञ्चायत विरुद्धको आन्दोलनमा पर्वतका प्रत्येक गाउँवासीले माया गरेको, आश्रय दिएको र आफुलाई बचाएका कारण नै आफु यो स्थानमा पुग्न सकेको बताउनुभयो । उहाँले भावुक हुँदै भन्नुभयो–‘त्यतिबेलै तलमाथि भएको भए आज यो स्थानमा पुग्ने अवसर कसरी पाउँथे होला र पक्कैपनि राज्यको विशिष्ट तहमा पुगेको छु, पर्वतवासीले हिजो आफ्नै भाई, छोरा भनेर लगाएको गुन तिर्ने छु ।’ उहाँले यसो भनिरहँदा कार्यक्रममा सहभागिहरु समेत भाबुक बनेका थिए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उहाँले लामो समय जेल जीवन समेत विताएको स्मरण पनि गर्नुभयो । ‘हुन त म अहिले श्रोत साधन भएको निकायमा छैन तर पनि बोली बिक्ने स्थानमा छु, मेरो प्राथमिकतामा मुलुकका ७७ वटै जिल्ला पर्छन तर आफ्नो जन्मभूमिको माया छुट्टै हुँदो रहेछ’ उहाँले भन्नुभयो । उहाँले संयोगले आफ्नो कार्यकाल पनि छ वर्षको भएकाले कार्यकालभरी पर्वतबासीका आशा र अपेक्षाहरु पुरा गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको सवै स्थानीय तह र वडासम्म पनि कालोपत्रे सडक, खानेपानी, विद्युत, सिंचाई र अन्य आधारभूत आवश्यकताको विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महोत्सवकै अवसरमा पर्वत जिल्लामा जन्मिएर राज्यका विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल, परराष्ट्र मन्त्रालयका सचिब शंकरदास बैरागी, त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री, नेपाल प्रहरीका पूर्व डिआईजी ज्ञानेद्र विक्रम महत लगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । महिलाहरुको मात्र व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव फागुन ७ गते सम्म संचालन हुने छ । महोत्सवमा महिला शसक्तिकरण सम्वन्धि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । भने राष्ट्रिय महिला भलिवल प्रतियोगिता र भजन, रत्यौली लगायतका प्रतियोगिताहरु रहेका छन् ।