प्रमुख समाचार

तरकारीको मालामा यसरी सजिए पर्वतका आमाहरू

By लोकतन्त्र अनलाईन

February 11, 2019

पर्वत : सामान्यतया: माला के को लगाइन्छ होला? सहजै जवाफ आउँछ फूलको। तर पर्वतका आमाहरूले लगाएको बिना फूलको मालाले पनि धेरैको मन लोभ्याएको छ। उनीहरूले लगाएको मालामा फूलको ठाउँमा बिभिन्न तरकारीहरू उनीएको थियो।  महिलाको व्यवस्थापनमा मात्र संचालित रेडियो दिदीबहिनीको आयोजनामा भएको ११ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा र्‍याली र झाँकी प्रस्तुत गर्ने क्रममा उनीहरू यो भेषमा देखिएका हुन्। र्‍यालीमा सहभागी भएका बिभिन्न ३३ ओटा समूहमध्ये केही प्रतिनिधि समूहका महिलाले कृषि झाँकी प्रदर्शनीअन्तर्गत आफैँले उत्पादन गरेका बिभिन्न कृषि फसलहरूको माला लगाएर महोत्सवमा सबैको ध्यान तानेका हुन्। उनीहरूले खुर्सानी, काउली, ब्रोकाउली, टमाटर, अदुवा, बेसार, चिप्ले भिण्डी, आलु, कफी, लसुन, प्याज, कागती, मुला गाजर, धनिया, केराउ, सिमी, सुन्तला लगायतका तरकारीको माला लगाएर ठूलो संख्यामा र्‍यालीमा सहभागी भएका थिए। कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार मेलामा अवलोकन गर्न आउने दर्शकलाई पनि कृषितर्फ मोहित गर्नको लागि बिभिन्न आमा तथा महिला समूहले तरकारीको माला लगाएका हुन्। आमाले कृषि कर्ममा देखाएको जोश र र्‍यालीमा तरकारीकै माला लगाएर सहभागी हुनु उनीहरूले आफ्नाे कामलाई सम्मान गरेको उनको भनाई छ।  र्‍यालीमा सहभागी भएका कुश्मा नगरपालिकाअन्तर्गत कटुवाचौपारी, चुवा, खरेहा लगायतका पायक पर्ने स्थानका महिलाले समूहमा उत्पादन गर्दै आएका कृषि बालीको प्रदर्शनी झाँकी र र्‍यालीमार्फत गरेका हुन्। रेडियोकी अध्यक्ष कल्पना चापागाईँका अनुसार र्‍यालीमा सहभागी भएका मध्ये उत्कृष्टलाई पुरस्कार समेत प्रदान गरिने छ।  रेडियोले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ। यस वर्ष माघ २७ गतेबाट सुरु भएको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ।