प्रमुख समाचार

पर्वतमा एचआईभी संक्रमितहरुप्रति भेदभाव र लान्छाना बढ्दै, न्यूनिकरणको पहल

By लोकतन्त्र अनलाईन

July 09, 2019

पर्वत– समाजमा एचआईभी एड्स संक्रमितहरु हेला र भेदभावका कारण खुल्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पर्वत जिल्ला अस्पतालले आज सरोकारवालाहरुका बिचमा आयोजना गरेको गोष्ठिमा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् । समाजमा एचआईभी संक्रमितहरुलाई सहज रुपमा जीवनयापन गर्न सहज वातावरण बनाउनुपर्ने उनीहरुले बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले एचआइभी संक्रमितहरुलाई गरिने व्यवहार सम्मानजनक हुनुपर्ने बताउनुभयो । अरु रोग जस्तै एचआईभी पनि एक किसिमको रोग रहेकाले संक्रमितहरुलाई सहज रुपमा लिन आग्रह गर्नुभयो । रोग सर्न नदिन सचेत हुनुपर्ने तर संक्रमितलाई समाजमा बहिस्कार गर्नु मानवीय व्यवहार भित्र नपर्ने पौडेलको भनाई छ । समाजमा हुने हेला र भेदभावको त्रासले जिल्लाका संक्रमितहरु अरु जिल्लामा गएर उपचार गर्नुपर्ने वाध्यतामा रहेको स्वास्थ्यकर्मीहरुले सुनाएका थिए । कार्यक्रममा पर्वतमा संक्रमितहरुको अवस्थाको बारेमा पनि जानकारी दिईएको छ । जिल्ला अस्पतालका तथ्यांक अधिकृत प्रविन भण्डारीले संक्रमितको अवस्था, संख्या र उपचारको बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार पर्वतमा अहिले ६० जना संक्रमित रहेका छन् । ति मध्ये महिला ३२, पुरुष २८ जना रहेका छन् । तिमध्ये ८ जना नावालक रहेका छन् । पछिल्लो तीन वर्षमा रोगीहरु बढ्दै गएको देखिएको छ । जिल्ला अस्पतालमा सञ्चालित एआरटी सेवा लिनेहरुको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७३ ०७४ मा ५१ जना ०७४ ०७५ मा ५६ संक्रमित थिए भने चालु वर्ष ६० जनाले एआरटी सेवा लिईरहेको भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडी लगायतले एचआईभी संक्रमितहरुको जीवन रक्षाका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । एआरटी सेवा लिने संक्रमितहरुलाई स्वास्थ्यमा आउने खरावीबाट जोगाउन सकिने भएकाले संक्रमितहरुलाई जिल्ला अस्पतालमा पठाईदिन पनि सहभागीहरुले सुझाव दिएका थिए ।