प्रमुख समाचार

कास्कीको अन्नपुर्ण गाउँपालिकाको उरीबाट विप्लव समूहका १८ जना नेता तथा कार्यकर्ता पक्राउ

By लोकतन्त्र अनलाईन

June 09, 2019

कास्की – प्रहरीले अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ता  रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।यो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । विप्लव समूहका नेता तथा कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।